प्रकाश पाक्साँवा
सोमवार, मंसिर १०, २०७५
280

तेह्रथुम-एक दशकसम्म पञ्चेबाजा बोकेर नजिकैको गाउँदेखि टाढा टाढासम्म पुग्ने गरेका थिए दलित समुदायका युवरु । विवाह तथा शुभ कार्यमा युवाले बाजा घन्काइमा रमाउनुको मजै बेग्लै थियो । गाउँमा हुने विवाह तथा शुभकार्यमा घन्किने गरेका पञ्चेबाजा र यतिबेला विरलै सुन्न थालिएको छ ।
गाउँगाउँमा पनि मौकिल बाजा हिजोआज बज्न छाडेका छन् । पश्चिमी संस्कृतिले युवाहरूको मनलाई तानेसँगै मौलिक बाजा प्रयोगमा आउन छाड्दै गएको हो । पुराना पुस्ताले मौलिक बाजाको राग बिर्संदै गएका छन् भने नयाँ पुस्ताले मौलिक बाजाको महत्व र राग बुझ्नै पाएका छैनन् । विभिन्न शुभकार्य होस् वा धार्मिक कार्य । नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ । पञ्चैबाजाअन्र्तगत पर्ने सहनाई, दमाहा, झ्याली, ट्याम्को र ढोलकी नेपाली धार्मिक तथा सांस्कृतिक बाजाको रूपमा लिइन्छ ।

चाडवाड, विवाह, व्रतबन्ध, जात्रा, रोपाइँ, पूजा तथा सामाजिक उत्सवका बेलामा पनि यी बाजा बजाइने गरिन्छ । एक दशकयता तेह्रथुमको गाउँगाँउमा कमै मात्रामा सुन्न पाइन्छ । मौलिक बाजा बज्न छाडेको जानकार बताउँछन् । विवाह तथा शुभकार्यमा मौलिक बाजाहरू प्रयोगमा कमीका साथै संरक्षणमा पछिल्लो पुस्ताको ध्यान नपुग्दा लोप हुँदै आएको जिल्लाको हमरजुङका भक्तबहादुर दर्जीले बताए ।
पछिल्लो पुस्ताका युवालाई पञ्चेबाजा बजाउनै समस्या हुन थालेको छ । पञ्चे बाजा बजेपछि गाउँघरको वातावरण आनन्दित र रमणीय बन्छ । यस्ता बाजाका रागहरू धेरै किसिमका हुने र अत्यन्त मर्मस्पर्शी हुने पनि दर्जीको भनाइ छ । गाउँघरमा पञ्चेबाजाले गाउँघरमा रमाइलोको साथै शुभकार्यको सन्देश दिने गरेको थियो ।