प्रगति ढकाल
बिहिवार, मंसिर १३, २०७५
464

 रामेछापकी सुनिता मगर (नाम परिवर्तन) पत्रिकामा छापिएको विज्ञापन हेरेर जागिरका लागि एक म्यानपावरमा गइन् । भर्खरै बिबिएस दोस्रो वर्ष पढ्दै गरेकी उनले अन्तर्वार्ता पनि दिइन् । अन्तर्वार्तामा सोधिएछ, ‘के तिमी मसँग नगरकोट जान सक्छौ ? सक्ने भएमात्रै जागिर दिउँला ।’ उनी अत्तालिएर बाहिर निस्किन् । आजभोलि उनलाई जागिरका लागि अन्तर्वार्ता दिन जानै मन लाग्दैन । भन्छिन्, “मानसिक रुपमा नै मलाई त एकदमै डर भइरहन्छ । जहाँ गए पनि हाकिमहरू उस्तै होलान् भन्ने डर लाग्छ । घरको आर्थिक अवस्था कमजोर छ, काठमाडौं बस्न पनि धौ–धौ भयो ।”वर्षा शर्मा (नाम परिवर्तन) को मानसपटलमा कलेजमा आफ्नै शिक्षकबाट सहनुपरेको यौन हिंसाले अझै पनि तर्साइरहन्छ । “हाइ सेक्सी गर्ल ! भनेर फेसबुकमा म्यासेज पठाउने, प्राक्टिकल बुझाउन कलेजको समय सकिएपछि एक्लै बोलाउने, अश्लील कुराहरू बोल्ने गरेर त्यो शिक्षकले हैरानै बनाएको थियो,” उनी स्मरण गर्छिन्, “कुराहरू त बाहिर ल्याएँ, तर धम्की दिन थालेपछि डर लाग्यो । अब केही गर्दिन भनेर माफी मागेपछि म पनि चुप बसें ।” लेक्चरजस्ता मान्छेबाटै नै यौन हिंसा सहेकी उनलाई आजभोलि धेरै मान्छेहरूको विश्वास लाग्दैन । सविता क्षेत्री (नाम परिवर्तन)ले पत्रकारितामा स्नातकोत्तर गरेकी छन् । टेलिभिजनमा काम गर्ने उनको सानैदेखिको रहर हो । राम्रो सञ्चारकर्मी बन्ने लक्ष्य लिएर उनी एक प्रतिष्ठित टेलिभिजनमा पुगिन् । उनलाई त्यहाँको हाकिमले भनेको कुरा अहिले पनि याद छ– ‘कति च्वाँक केटी तिमी त ? यस्ती च्वाँकलाई हेरेरै बसिरहन पाएपछि अरु के चाहियो !’ त्यसपछि उनले यो क्षेत्रमा जिन्दगीभर काम गर्दिनँ भनेर फर्किइन् । सरकारी अफिसमा जागिर खाने सुकमाया कार्की (नाम परिवर्तन) सुब्बा हुन् । उनले सरुवाका लागि हाकिमसँग आग्रह गर्दा ‘यति राम्री मान्छे छौ, मबाट टाढा कसरी पठाउनु ?’ भनेपछि उनले प्रतिकार गर्ने आँट गरिन् । तत्कालिन समस्या त समाधान भयो । तर उनलाई जिन्दगीभर डर छ– फेरि पनि दुव्र्यवहार सहनुपर्ने हो कि भन्ने । सम्झना थापालाई कोचाकोच भएर सार्वजनिक गाडीमा चढ्नै डर लाग्छ । उनी सार्वजनिक गाडीमा धेरैपटक दुव्र्यवहार समस्या भोग्नेमध्ये एक हुन् । “बरु हिँडेरै यात्रा गर्छु, सार्वजनिक गाडीमा चढ्न डर लाग्छ,” उनी भन्छिन् । माथि उल्लेख गरिएका त केही प्रतिनिधि पात्रमात्रै हुन् । यस्ता पात्रहरू हाम्रो समाजमा धेरै छन् । केही पीडित त आफूमाथिको अन्यायमा बोल्न पछि हट्दैनन् । तर केही भने आफ्नो जागिर नै छोड्नसमेत बाध्य छन् । मानसिक रुपमा तनाव झेलेर बाँचिरहेका थुप्रै छन् । जो पीडित छ उसैलाई नानाथरी आरोप लगाउने यो समाजसँग खुलेर कुरा गर्नभन्दा चुपचाप सहेर बस्नुलाई बुद्धिमानी ठान्छन् यौनजन्य हिंसापीडित अधिकांश नारीहरू । अब खाँचो छ यो समाजको सोच बदल्ने । अब जरुरी छ सबै नारीहरू आफूमाथिको हिंसाको विरुद्ध खुलेर आवाज उठाउन । अनि जरुरी छ यो समाजमा यौनजन्य हिंसासम्बन्धी शिक्षा दिन । तर खै यस्तो किसिमको शिक्षा ? 
दुव्र्यवहारका आर्थिक तथा सामाजिक समस्या 
यौनजन्य हिंसाका कारण महिलाहरूमा सामाजिक तथा आर्थिक समस्याहरू बढिरहेको अवस्था छ । जो यौनहिंसाको शिकार भएको छ, उसको जीवनमा नकारात्मक असर पुग्न सक्छ । यही असरका कारण कतिपयले मानसिक सन्तुलन गुमाउन पुगेका छन् । उपचार गराउँदा आर्थिक खर्च त हुन्छ नै, समाजमा उनीहरूलाई सम्मानजनक वातावरण हुँदैन । जसले हिंसा सहनुपरेको छ, समाजले उसैलाई नराम्रो नजरले हेरिदिन्छ । यौनजन्य हिंसाकै कारण हातमा सर्टिफिकेट बोकेर पनि जागिर नखानेहरू भेटिन्छन् । अनि कसरी हुन सक्छन् महिलाहरू आर्थिक रूपमा स्वावलम्बी ?प्रहरी आकडाअनुसार महिलामाथि हुने हिंसा वर्षेनी बढ्दै गएको छ । २०७२ र ०७३मा बलात्कारका मात्र १ हजार ८९ उजुरी परेका थिए भने त्यो संख्या गत आर्थिक वर्षमा १४ सय ८३ पुगेको छ ।
के हो यौन दुव्र्यवहार ?
यौन दुव्र्यवहार भनेको महिलामाथि गरिने यौनजन्य अवैध, अनैतिक, अनुचित र नाजायज व्यवहार हो । अर्थात् उनीहरूलाई भोगविलासको साधन सम्झेर कुनैपनि प्रकारको यौनजन्य हिंसा गरिनुलाई यौन हिंसा भनिन्छ । महिलाको बिनाइच्छा कुनै व्यक्तिले कुनै अंग वा कुनै वस्तु महिलाको यौनांगमा प्रवेश गराउँछ भने त्यसलाई बलात्कार भनिन्छ । महिलालाई नराम्रो दृष्टिले जिस्काउनु, अश्लील व्यवहार गर्नु, छुने प्रयास गर्नु, अश्लील वा अनैतिक टिप्पणी गर्नु आदि पनि यौन हिंसाको श्रेणीमा पर्दछन् ।
यौन दुव्र्यवहार बढ्नुको कारण 
महिला हिंसा बढ्दै जानुको मुख्य कारण शैक्षिक चेतनाको कमीलाई मान्छन् सरोकारवालाहरु । कतिले थाहा पाउँदा त कतिले थाहा नपाएर नै यौनजन्य हिंसा गरिरहेका हुन्छन् । धेरैको बुझाइमा शारीरिक सम्पर्क राख्नुमात्रै यौन हिंसा हो । तर यौनजन्य कुराहरू गर्नु, नराम्रो नियत राख्नु, छुन खोज्नु, अपशब्द बोल्नु पनि यौनजन्य हिंसा नै हो । चेतनाको अभाव, कमजोर सरकारीतन्त्र, मदिराजन्य पदार्थको खुल्ला बिक्रीवितरण र प्रयोग, विज्ञापन, सर्कस आदिमा महिलाहरूको अर्धनग्न प्रदर्शन, सामाजिक सञ्जालमा आएका विकृति, पारिवारिक बेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाह, रुप तथा धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरू बढिरहेको बताइन्छ । नेपाली महिलाको हिंसा सहने बानी, पारिवारिक, सामाजिक डरले दूषित क्रियाकलापहरू बाहिर निस्कन नसक्दा हिंसात्मक कार्यहरू अझ बढ्दै गएका छन् ।

समाधानका उपाय 

 यौनजन्य हिंसासम्बन्धी शिक्षा
 कडा कानुनी कारबाही कार्यालयमा राम्रो वातावरण
 पीडितले आफ्ना पीडा सहज रुपमा प्रस्ततु गर्ने वातावरणको सिर्जना
 महिलामा यौनजन्य हिंसाविरुद्ध लड्न सक्ने क्षमता अभिवृद्धि
 गुनासा सुन्ने निकायको व्यवस्था
 यौन हिंसा गर्नेलाई तुरुन्तै कारबाही
 जनचेतनामूलक कार्यक्रम सञ्चालन

 यौनजन्य हिंसाविरुद्ध उजुरी बढिरहेको छ 

उत्तमराज सुवेदी 
प्रवक्ता, प्रहरी प्रधान कार्यालय
समाजमा यौनजन्य हिंसा दबाएर बस्ने प्रचलनमा विस्तारै सुधार आएको छ । प्रहरीमा रिपोर्ट आउने क्रम पनि बढिरहेको छ । पीडित आफैं सूचना लिएर आउन थालेका छन् । घटना मिलाउन खोज्नेलाई पनि कारबाही हुन्छ । यसकारण पनि पहिलाको जस्तो यौनजन्य हिंसाका घटना मिलाउने काम कम भएको छ । घटनाको प्रकृति हेरेर हामी कारबाही चलाउँछौं । 


मानसिक समस्या देखिन सक्छ

डा. सुनिलकुमार शाह, मानसिक रोग विशेषज्ञ
महिला हिंसाका कारण दीर्घकालीन मानसिक समस्या देखिन सक्छ । डिप्रेसन, एन्जाइटी, पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर, रेप ट्रमा सिन्ड्रम आदि रोगको मनोवैज्ञानिक एवं औषधीय उपचार गर्नुपर्ने हुन्छ । यस्ता घटनाहरूले मानसिक रुपमा नकरात्मक असर परिरहेको छ । यस्ता मानसिक असर न्यूनीकरणका लागि मनोसामाजिक अनि बृहत्तर राष्ट्रिय चिन्तनको आवश्यकता छ । मानसिक रुपमा तनाव व्यवस्थापन गर्नुपर्छ । पीडितले पनि आफूमाथि भएको अन्याय मनभित्र दबाएर तनाव लिएर बस्नु हुँदैन । समस्याको समाधान खोजेर मानसिक रोग लाग्नबाट बच्नुपर्छ । उसका नजिकका आफन्त, साथीभाइ अनि समाजले उसलाई राम्रोसँग सम्झाउनुपर्छ । हिंसा सहँदा मानसिक रुपमा तनाव झनै बढ्न सक्छ । 

घाँसदाउरा गर्ने पनि सुरक्षित छैनन् 

भारती पाठक 
अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ 
घाँसदाउरा गर्न जाँदा पनि यौनजन्य हिंसा हुने गरेको छ । राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र आसपासका महिलाहरूमा यस्तो हिंसा बढी भएको सुनिएको छ । ठूला पदमा बसेकाहरूबाट नै हिंसा भएको छ । केही समयअगाडि सेनासँग जोडिएर हिंसाका कुराहरू आएका थिए । तर यत्तिकै दबाइयो । निकुञ्ज नजिक गाईबाख्रा चराउन जाँदा नराम्रो शब्दहरू प्रयोग गरिन्छ । 

 कानुनको प्रभावकारी कार्यान्वयन नभएसम्म हिंसा घट्दैन

सरु जोशी श्रेष्ठ, महिला अधिकारकर्मी 
युएनओडीसीको पछिल्लो तथ्यांकअनुसार गत साल विश्वमा ८७ हजार महिला मारिएछन् । दुःखको कुरा अधिकांश 
आफ्नै श्रीमान् वा पार्टनर वा चिनेका मानिसबाट मारिएका छन् । विश्वमा ४.५ मिलियन मानिस यौन हिंसाबा पीडित छन् जसमध्ये ९८ प्रतिशत महिला छन् । नेपालमा यकिन तथ्यांक छैन तर पहिलेभन्दा बढी केस दर्ता भएका छन् । यसको अर्थ पहिले घटना कम घटे भन्ने होइन । तर निश्चत रुपमा अहिले हिंसाविरुद्ध दर्ता गर्ने, सहयोग गर्ने वातावरण बनेको छ ।  कानुनबारे सूचना प्रवाह, कानुनको प्रभावकारी कार्यान्वयन, बलियो, चुस्त संयन्त्र खडा गर्नुपर्छ । महिलाविरुद्धको हिंसा सामाजिक मुद्दा हो भन्ने बुझाइलाई पनि रिभिजिट गर्नुप-यो किनकि यो हार्डकोर आर्थिक मुद्दा हो । यौनजन्य हिंसासम्बन्धी जनचेतनाको अभाव देखिएको छ । नीति–निर्माता, कानुन कार्यान्वयन गर्ने निकायमा पनि चेतना अभाव छ । विधिको शासन, छिटोछरितो न्यायको धेरै ग्याप छ । महिलाका विषयमा काम गर्ने समूहहरूले हिंसाको रोकथाममा लाग्नुपर्छ । आवश्यक तथ्यांक र अनुसन्धानका लागि संयुक्त रुपमा वकालत गर्नुपर्छ । हिंसाका कुरामा जातजाति, राजनीतिक अवधारणा र भूगोलमा विभाजित हुनु हुँदैन ।