रजनी श्रेष्ठ
बिहिवार, मंसिर २०, २०७५
278

रेडियो र टेलिभिजनमा काम गर्ने महिलाको संस्था (आईवार्ट) को नेपाल च्याप्टरको आयोजनामा दोश्रो आईवार्ट महिला चलचित्र महोत्सव काठमाडौंमा सम्पन्न भएको छ । महोत्सव सञ्चारिका समूहको सहकार्यमा भएको हो ।
उक्त अवसरमा आईवार्टका अन्तर्राष्ट्रिय अध्यक्ष भ्वायलेट गोन्डालगायतको उपस्थिति थियो । यसैगरी आईवार्ट नेपालका बोर्ड सदस्यमा नितु पण्डित, शैलजा सिंह, संगीता थापा पन्त, अनुष शर्मा, निता सापकोटा, मन्दिरा राउत, मल्लिका भट्टराई, चन्दा विष्ट र मन्टेश्वरी राजभण्डारी सहभागि थिए ।

महिला चलचित्र महोत्सवमा महिलाले निर्देशन गरेका १० देशका १२ चलचित्र प्रदर्शन गरिएको थियो । प्रतियोगितामा नेपालका ७ फिल्म अन्तिम चरणमा पुगेका थिए ।
उक्त अवसरमा आईवार्टका अन्तर्राष्ट्रिय अध्यक्ष भ्वायलेट गोन्डाले छोटो समयमा नेपालले राम्रा चलचित्र बनाएकोमा खुसी व्यक्त गरिन् ।
महिलाले निर्देशन गरेका लघु चलचित्र प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट भयो । यस्तै विद्या चापागाईंको ‘स्टोरी अफ स्कुल’ र निशा मानन्धरको ‘वी क्यान’ उत्कृष्ट तीनमा पर्न सफल भए । प्रतियोगितामा चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, शुष्मा गौतम र असिम शाह निर्णायक थिए । प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आईवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले २५ हजारसहित पुरस्कार प्रदान गरिन् । यस्तै उत्कृष्ट हुने दुई चलचित्रलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरियो । कार्यक्रममा चलचित्रका निर्देशकसँग चलचित्र सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा स्वंयसेवीमा ओस्कार र ग्रिनफिल्ड कलेजका वबद्यार्थीहरु थिए ।
कार्यक्रमकी फेस्टिभल निर्देशक अनुपा श्रेष्ठले संसारभरका महिलाहरुले बनाएका धेरैथरिका फिल्म देखाउन फेस्टिभल गरेको बताइन् । महिला फिल्म मेकर्स कम भएको हुँदा नेपाली महिला फिल्म मेकर्सहरुलाई प्रोत्साहन पनि हुने हुँदा यसले सहयोग मिल्ने र गुणस्तरीय फिल्महरु पनि बन्ने उनले विश्वास गरिन् ।