कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
231

लमजुङ - जिल्लाका पर्यटकीय गाउँहरू पछिल्लो समय म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । गाउँको प्रवद्र्धनका लागि भन्दै करिब एक दर्जन गाउँहरूले म्युजिक भिडियो बनाइसकेका छन् ।
गाउँको पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा प्रचार गर्न र पर्यटकलाई आकर्षण गर्न म्युजिक भिडियो उत्पादन गरिएको घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । पर्यटन प्रवद्र्धनका लागि तयार पारिएका प्रायः सबै म्युजिक भिडियोहरूमा गाउँको विविधतालाई समेटिएको छ ।

स्थानीय संस्कार, संस्कृति, भेषभुषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातात्विक सम्पदाहरूलाई भिडियोमा समेटिएको छ । पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले म्युजिक भिडियो देखेपछि पर्यटक थप आकिर्षत भएको दाबी गरे । “म्युजिक भिडियो सबैले हेर्ने भए, गाउँमा जे छन्, सबै देख्छन्,” गुरुङले भने, “भिडियो हेरेर मन पराउनेहरू गाउँ आउँछन्, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।”
गुरुङ चलचित्रका नायक एवं मोडल विष्णु गुरुङले शान्ति प्रक्रियापछि गाउँगाउँमा आन्तरिक पर्यटक बढेको र त्यसपछि गाउँ चिनाउने म्युजिक भिडियो निर्माणले गति लिएको बताए । गाउँको बारेमा गीत लेख्ने, त्यही गीतको आधारमा भिडियो बनाउने र गाउँमा आएका पाहुनाहरूलाई त्यहि गीतमा नाचेर स्वागत गर्ने प्रायः गाउँको चलन छ । म्युजिक भिडियो बनाइएका गाउँहरूमा हुने सभा तथा अन्यत्र हुने विशेष कार्यक्रमहरूमा पनि तिनै गीतहरूमा विशेष नाच देखाउने चलन छ ।
जिल्लामा घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समिभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायतका गाउँहरूमा म्युजिक भिडियो बनिसकेका छन् । गीतहरू कतिपय गुरुङ भाषामै छन् भने पछिल्लो समय नेपाली भाषामा लेखिएका गीत बढीमात्रामा प्रयोगमा आउने गरेका छन् ।