कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
200

धनकुटा । धनकुटा जिल्लाकै सबैभन्दा बढी राई जातिको बस्ति भएको स्थान हो सहिदभूमि गाउँपालिका । यस गाउँपालिकालाई संघीय संरचनामा लैजाँदा देशकै सबैभन्दा लामो नामाकरण गरिएको थियो– खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिका । पछि यसको नाम छोट्याएर सहिदभूमि राखियो । यस क्षेत्रलाई खाल्सा क्षेत्र भनेर समेत चिन्ने गरिन्छ ।
९० प्रतिशत भन्दा बढी राई जाती बसोबास गर्ने यस गाउँपालिकाका राईहरू यतिबेला बढाङ्मी चाडको रमझममा झुलेका छन् । घरैपिच्छे उनीहरू ढोल, झ्याम्टालगायत परम्परागत बजागाजाको साथमा तालमा ताल मिलाई नाचगान गर्नमा व्यस्त देखिन्छन् । खाल्सा क्षेत्रको खोकु, छिन्ताङ्ग र आ“खिसल्ला चुम्वाङ्ग लगायतका स्थानका वान्तवा, कुलुङ्ग लगायतका राई बस्छन् । गाउ“ नै पिच्छे उनीहरूको भाषासमेत फरक फरक छ । भाषाजस्तै संस्कृतिमा पनि विविधता छ । भाषा संस्कृतिमा विविधता भए पनि वाढाङमि उनीहरूको साझा सांस्कृतिक धरोहर हो । कुलदेवताको पूजा सकेपछि उनीहरू सकेसम्म समूह–समूहमा घरघरै पुगेर ‘बढाङ्मी’ नाच्ने गर्छन् । बढाङ्मी नाच राई जातिमा जति महत्वपूर्ण छ, यसको उत्पत्तिको कथा पनि उत्तिकै रोमाञ्चक छ ।
नाचको उत्पत्ति खाल्साली राईका पुर्खा मानिएका ‘बुढाहाङ्ग’ राजाको पालादेखि भएको जनश्रुति छ । बुढाहाङ्ग राजाका ६ जना छोरी थिए । राजाले आफ्ना छोरीहरूलाई रमाइलो गर्न ६ दिनसम्म छुट्टी दिए । त्यसैबेला तिनै ६ जना किरा“ति चेलिहरूले यो नाचको थालनी गरे । त्यही नाच विकसित भएर अहिले खाल्साली राईहरूको सांस्कृतिक एकता र धरोहरको रुपमा विकास भएको भन्ने कुरा बजे र गाउँघरका बुढापाकाबाट आफूहरूले पनि जानेको पत्रकार महासंघका धनकुटाका उपाध्यक्ष नगेन्द्र राई बताउँछन् । उनी भन्छन्, “प्रत्येक वर्ष मनाइने यो चाड अब त यहाँका सबै राईहरूको एकताको चाड नै भएको छ । कात्तिक पूर्णिमाको पहिलो मंगलबार साविक छिन्ताङ गाविस वडा नं. ४ मा रहेको साकेन्वा थानमा पूजा गरेपछि यो चार्डको आरम्भ हुन्छ । कुलदेवता पूजामा ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्छन् । धामीझाँक्रीहरूले देवीदेवतासँग मुन्धुम गाउ“दै बरदान माग्ने गर्छन् । किरात राईहरू प्रकृतिको पूजक भएकाले नया“बाली प्रकृतिलाई चढाउँदै घर भित्र्याएको खुसीयालीमा पनि यो चाड मनाउने गरेको सहिदभूमि गाउँपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र राईले जानकारी दिए ।
यता धनकुटा सदरमुकामको भिरगाउँ, सान्ताङ्ग, ठोका, डा“डागाउ“, छारागाउ“, ओक्मालुङ्ग तथा बेलाहारामा बसोबास गर्ने आठपहरीया राई पनि अहिले खाल्सा क्षेत्रमा बसोबास गर्ने राईले मनाइरहेको जस्तै चाड मनाइरहेका छन् । यहाँका स्थानिय आठपहरिया जातिले भने यस बढाङ्मीलाई दुःखबाट उक्सिने अवसरको रुपमा मुख्य गरेर मान्ने गरेका छन् ।
स्थानीय बाजागाजाले सुसज्जित भएर गीत गाउँदै नाच्दै इष्ट देवताको पूजा र खानपिन गर्ने गर्छन् । धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको बढाङ्मी मंसिरे पूर्णिमाबाट सुरु भएर औंसीसम्म हुने गर्दछ । सुनसरीको बराहक्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गरी दुःख बिर्सिएर मिठो खानेकुरा खाएर नाचगान गर्दै मनाइने चलन रहेको स्थानीय सूर्यकुमार आठपहरीयाको भनाइ छ । उनले भने, “यो बेला भनेको हाम्रो पितृको सम्झनाका लागि सुनसरीको बराहक्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गर्ने चलन रहको छ ।” ।
खासगरी परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोसी, कोकाहा खोला र तमोरमा बगाउने चाडको रुपमा साथै हर्कबढाइँ गर्ने चाडको रुपमा बढाङ्मीको विशेष महत्व रहेको छ ।
करिब १५ हजारको हाराहारीमा यो जातिको बसोबास धनकुटा जिल्लामा रहेको छ । आफ्नो संस्कृति लोप हुन नदिन स्थानीय युवा सचेत बनेका छन् । अन्य चाडमा जस्तै आफ्नो चाडमा विकृति आउन नदिन युवाहरू लागिपर्नुका साथै विभिन्न कार्यक्रम समेत अघि सारिएको र संस्थागत रुपमै यसको विकासमा लागिपर्ने धनकुटा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जमशेर आठपहरिया बताउँछन् ।

 

विकास घिमिरे