कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
448

ओखलढुंगा - प्लाष्टिकजन्य सामग्रीको बढ्दो प्रयोगका कारण बाँसजन्य पदार्थबाट उत्पादित सामग्री लोप हुन थालेका छन् । यसैको पछिल्लो सिकार बनेको छ, बाँसको काँइयो । जिल्लाका ढुस्के, डाँडागाउँ, डाँडाखर्कलगायतका ठाउँमा आजभोलि बाँसको काँइयो बनाउन छाडिएको छ ।
एक दशकअघिसम्म यहाँ उत्पादित बाँसको काँइयो सोलुखुम्बु र उदयपुर जिल्लामा समेत जान्थ्यो । बाँसको काँइयो गाउँघरमा अत्यधिक प्रयोग गरिन्थ्यो । “आजभोलि त बाँसको काँइयो पनि हुन्छ र भन्ने अवस्था आइसक्यो,” सिद्धिचरण नगरपालिका १२ शीतलपुरका स्थानीय प्रकाश श्रेष्ठ भन्छन्, “परम्परागत सामग्री यसरी लोप हुँदै जानु राम्रो होइन ।”

कपाल कोर्नका लागि प्रयोग गरिने काँइयो महिलाहरुले बढी प्रयोग गर्ने गर्थे । यस्तो खालको काँइयो लिखा, जुम्रा र चायाका लागि उपयोगी मानिन्थ्यो । पहिले जताततै पाइने बाँसको काँइयो अहिले खोज्दा नपाइने अवस्था आएको सिद्धिचरण नगरपालिका ९ की स्थानीय व्यवसायी विष्णुकुमारी श्रेष्ठले बताइन् ।
बाँसको काँइयो प्रतिगोटा १०० रुपैयाँ पर्छ । यस्तो काँइयो खोटाङको हलेसीमा मात्रै बनाइन्छ । “हलेसीमा पनि एकजनाले मात्रै बनाउँछन् भन्ने सुनेकी छु,” व्यवसायी श्रेष्ठले भनिन्, “मैले त्यहीँबाट झिकाएर बेच्दै आएकी छु ।”
ओखलढुंगासहित, खोटाङ र सोलुखुम्बु जिल्ला बाँसजन्य उद्योगहरुको पर्याप्त सम्भावना भएको क्षेत्र हो । तरपनि सम्बन्धित निकायले यसतर्फ ध्यान नदिँदा बाँसका सामग्रीहरु लोप भइरहेका छन् ।