कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५
590

तेह्रथुम - पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार र संस्कृति रहेको छ । लिम्बू समुदाय आजको आवश्यकता भनेको नै मातृभाषासँगै लिपी संरक्षण भएकाले सिरीजंगा लिपी सिक्दै आएका छन् । लिपी संरक्षणका लागि किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर शाखाले लिपी संरक्षण कार्यक्रम आयोजना गरेको छ ।
चुम्लुङद्वारा आयोजित कार्यक्रममा लिम्बू समुदायका युवाहरुको सकृयता रहको छ । घरमा बोलिने भाषा पहिलो भाषा भएको भन्दै यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र भाषासँगै लिपी संरक्षण आजको आवश्यकता रहेको चुम्लुङका नगर अध्यक्ष टीआर सेनेहाङले बताए । स्थानीय सरकार भनेको जनताको सरकार भएकाले विभिन्न जातजातिको भाषा, लिपी र संस्कार–संस्कृति बचाउनु उसको कर्तव्य रहेको म्याङलुङ १ का वडाध्यक्ष ईन्द्र तुम्बाहाङफेले बताए । भाषा लिपी संस्कार संस्कृति संरक्षणका लागि सबैै स्थानीय तहले उत्तिकै भूमिका निर्वाह गर्न आवश्यक रहेको अध्यक्ष तुम्बाहाम्फेले बताए ।
तुम्बाहाङफेले आफ्नो अस्तित्वसँग जोडिएको लिपीसम्बन्धी पूर्ण रुपमा ज्ञान लिनुपर्ने बताए । म्याङलुङ नगरपालिका एक नम्बर वडाबासी ५० जना सहभागी कार्यक्रममा सिरीजंगा लिपीका श्रोतव्यक्ति दिलकुमारी आङबुङ र राजकुमार तेयुङ तरेबाले सहजीकरण गरेका थिए ।