कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५
611

इन्टरनेटमा रहेका बाल यौन दुव्र्यवहारजन्य सामग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाइल्ड सेफ्टी पोर्टल चाइल्ड सेफ्टी डट ओआरजी डट एनपी सुरु भएको छ । ‘उत्कृष्ट इन्टरनेटको लागि सँगसँगै’ नारासहित नेपालमा पहिलोपटक विश्व सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेट वाच फाउन्डेसनको संयुक्त पहलको रुपमा उक्त पोर्टल सुरु भएको हो ।
इन्टरनेटमा उपलब्ध बालहिंसा वा यौन दुव्र्यवहारजन्य तस्बिर वा भिडियो सामाग्री फेला परेमा त्यसको लिंक, तस्बिर, भिडियो यस अनलाइन पोर्टलमा पहिचान उल्लेख गरी वा नगरी जोसुकैले पनि उजुरी गर्न सक्नेछन् । यसरी प्राप्त उजुरीलाई इन्टरनेट वाच फाउन्डेशनले विकास गरेको आइडब्लुएफ पोर्टलको टुल्समार्फत् प्राविधिक विश्लेषण गरी विस्तृत रुपमा प्रतिवेदन तयार गर्दछ ।

यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरीलगायत कानुन कार्यान्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारवाहिको लागि प्रयोग गर्न सक्नेछ । साथै, सम्बन्धित सेवाप्रदायकको सहयोगमा उक्त सामग्री स्रोतबाटै हटाउन पहलकदमी गर्नेछ । स्थानीय संजालबाहेक इन्टरनेट वाच फाउण्डेशनले संयोजन गरेको अन्तर्राष्ट्रिय संजालमार्फत् उक्त सामग्री हटाउन सक्रिय रुपमा पहल गर्नेछ ।
सफ्ट लन्च कार्यक्रममा इन्टरनेट वाच फाउन्डेशनकी निर्देशक एम्मा डगलसले दूर सहभागिता जनाउँदै साइबर स्पेसमा बालबालिकाको सुरक्षा अत्यन्त संवेदनशील विषय भएको र नेपालमा यसको चुनौतिलाई सम्बोधन गर्न स्थानीय साझेदार संस्थाहरुसँगको अभियानमा इन्टरनेट वाच फाउण्डेशनको साथ रहिरहने प्रतिवद्धता व्यक्त गरिन् ।
चाइल्ड सेफ्टी पोर्टलका साझेदार संस्थामध्येका फोरम फर डिजिटल इक्वालिटिका संस्थापक तथा कार्यकारी निर्देशक बाबुराम अर्यालले चाइल्ड सेफ्टी पोटल साइबर स्पेशमा हुने बाल दुव्र्यवहारलाई उन्मूलन गर्ने तथा बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगको लागि आवश्यक वातावरणको लागि भूमिका खेल्न पोर्टल संचालन गरिएको बताए ।