सागर परियार
बिहिवार, फाल्गुन ९, २०७५
462

जुम्ली खस शब्दकोष ‘खसिया आखर’ले जुम्लाको खस सभ्यता संरक्षणका साथै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व एक बलियो आधार बन्ने विश्वास गरिएको छ ।

जुम्ली खस भाषालाई लिपि बनाउन शब्दकोषमा सँगालेर जीवन दिने काम भइरहेको छ । खस भाषासँग जोडिएको जुम्लाको एतिहासलाई जिवन्त बनाउन पहिलो बृहत् खसिया आखर नामक जुम्ली शब्दकोष आउँदैछ । शब्दकोष निर्माण गर्न लागिएको झण्डै एक दशक बितिसक्यो । तर, आर्थिक अभावका कारण ‘खसिया आखर’ को काम अझै सकिएको छैन ।
७२ वर्षे संस्कृतिविद् रमानन्द आचार्य शब्दकोषको पाण्डुलिपि बनाउन व्यस्त छन् । आर्थिक समस्याका कारण कहिले विमोचन हुने पत्तो छैन । जुम्ली खसिया आखर शब्दकोषका सम्पादक आचार्य जुम्ली इतिहास जोगाउन शब्दकोष निकाल्न अति महत्वपूर्ण रहेको बताउँछन् ।
“यस शब्दकोषले साविकको कर्णालीमा परापूर्वकालमा बोलिने भाषाको संरक्षण गर्ने छ । खस सभ्यता संरक्षण एक बलियो आधार भन्ने विश्वास जुम्ला बासीको छ,” उनले भने । आर्थिक अभावका बीच लेखन कार्य बढिरहेको जुम्ली शब्दकोष खसिया आखरलाई अन्तिम रुप दिनका लागि सबै सरोेकारवालाले आवश्यक सहयोग गर्नुपर्नेमा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जोड दिए ।
एक दशकदेखि लेख्न शुरु गरिएको शब्दकोष अझै अलपत्र छ । सहयोग गर्छौं भनेका पनि पछि हटेपछि शब्दबकोष निर्माणमा आर्थिक समस्याले गर्दा अन्योल भएको उनको भनाइ छ । “सम्पादक आचार्यले आउँछ भने पनि आर्थिक स्रोत नजुटेसम्म विमोचन गर्न सकिँदैन,” उनले भने ।

२५ हजार शब्द संकलन
कसैको सहयोग नपाउँदा सम्पादक आचार्यलाई मुस्किल परेको छ । शब्द पुनरवलोकनको काम अन्तिम चरणमा पुगेको छ । तर आर्थिक अभावका कारण सार्वजनिक गर्न समस्या भएको छ । सुरुमा १ हजार पृष्ठमा ४० हजार भन्दा बढी शब्द शब्दकोषमा अटाउने गरी काम थालिएको थियो । तर यो अवधिमा २५ हजार शब्दमात्र संकलन भएको उनले सुनाए । कर्णालीका शताब्दी पहिला बोलिने भाषाहरु शब्द संकलन हालसम्म २५ हजार बढी भएको छ ।
२०६५ सालमा खसिया आखर लेख्न सुरु गरिएको थियो । तत्कालीन जिविस, आचार्य र जुम्ली अगुवाले यसका लागि पहल गरेका थिए । थुप्रैले आचार्यलाई सघाउने आश्वासन दिएका थिए । तर आश्वासनमै एक दशक बित्यो । शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति पनि गठन गरियो ।
तर, समिति पनि अहिले बेखबर छ । आर्थिक अभावका कारण भोकभोकै लेखन कार्य गर्दा पनि शब्दकोष अलपत्र अवस्थामा छ । तर यस विषयमा कसैले चासो देखाएका छैनन । न समिति सक्रिय छ, न त आर्थिक सहयोग नै जुट्न सकेको छ ।

सम्पादककै थाप्लोमा शब्दकोष
सरोकारवालाको सहयोग नहुँदा यसलाई पूर्णता दिने जिम्मा सम्पादककै थाप्लोमा आइपरेको छ । सम्पादक रमानन्द आचार्य दैनिक आधा घण्टा हिँडेर कार्यालय पुग्छन्, । बिना सेवा सुविधा दिनभर एक्लै काममा व्यस्त रहन्छन् । आफू हुँदै शब्दकोष प्रकाशन गर्ने उनको चाहना छ । पहिला सहयोग गर्ने भनेकाले साथ छोडेपनि आफ्नो साहस रहुन्जेल काम लेख्न नछोड्ने उनको दाबी छ ।
कर्णालीका झर्रा खस शब्दमात्र समेटिने खसिया आखर लेखन आर्थिक अभावकै कारण सुस्त भएको उनले सुनाए । “शब्द संकलन गर्न गाउँ जानुपर्छ तर बजेट छैन । म एक्लैले शब्द खोज्नु कि वर्णानुक्रम अथ्र्याउनु ? सहयोग गर्ने कोही छैन,” उनले भने । जुम्ली खस इतिहासबारे कोही पनि गम्भीर नहुँदा दु:ख लागेको उनको भनाइ छ ।
जुम्लाको सिंजा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ तथा नेपाली भाषा संरक्षण गर्न शब्दकोष तयारी गरिएको उनले बताए । १८४६ पूर्वको खस राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोष पूर्णता दिने उनको संकल्प छ ।
तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपर बोलिने भाषाका शब्द संकलन गरिएका छन् । शब्द संकलनका क्रममा आचार्य सहकर्मीसहित डोल्पाको तलिभोटान, कालिकोटको रासकोट, मुगु र हुम्लाका विभिन्न गाउँ पुगेका छन् । सदस्यहरू गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं केही समय खटिएका थिए । तर अहिले छैनन् ।
पुराना शब्द संकलनमा सिंजाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुंगानाथ उपाध्यायले सहयोग गरेको उनले सुनाए । जुम्लाका सिंजा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रबिन्दु बनाइएको छ ।
आचार्य भन्छन्, “विदेशी भाषाको नक्कलले मातृभाषा हराउँदै छ । खस भाषा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न लागिएको हो । यसमा पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका शब्द राखिएका छन् । दोस्रो, तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । तेस्रो, रास्कोटी भाषिकाभित्र कालिकोटमा बोलिने भाषा छन् । चौथोमा मुहु भाषिकाभित्र मुगु र हुम्लामा बोलिने भाषालाई समावेश गरिएको छ ।”

‘अ’ देखि ‘न’ सम्म लेखियो
एक दशकबाट लेख्न शुुरु गरिएको जुम्ला खस शब्दकोष खसिया आखरमा अहिले सम्म ‘अ’ देखि ‘न’ वर्ण सम्मका शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ । आर्थिक अभावकै कारण अहिलेसम्म कामले गति लिन सकेको छैन । बाँकी शब्दका लागि चन्दननाथ नगरपालिकाले २ लाख विनियोजन गरेको छ ।
बाँकी ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द संकलन गर्न, झण्डै ६ महिना लाग्ने सक्ने बताइएको छ । अन्तिम पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पु-याइने सम्पादक आचार्यले सुनाए । बाँकी शब्द संकलन गरी शब्दकोषलाई पूर्णता दिने अभियान चालिने छ ।

२०७७ भित्र शब्दकोष प्रकाशन हुने
पछिल्लो समय स्थानीय सरकारबाट जुट्दै गएको सहयोग र प्राप्त सल्लाह सुझाव बमोजिम आउँदो २०७७ भित्र शब्दकोष प्रकाशन गर्ने तयारी भएको छ । यसका लागि जिल्ला समन्वय समिति नगरपालिका र गाउँपालिकामा बजेट प्रस्ताव गरिएको छ ।
जसरी पनि २०७७ भित्र यसलाई प्रकाशन गर्ने लक्ष्य अनुसार आर्थिक तथा जनसक्ति व्यवस्थामा जोड दिने भएको छ । आचार्यले नयाँ पुस्तालाई महत्वपूर्ण कोसेली छाड्न अहोरात्र खटिएर काम गरेको जिसस प्रमुख लालबहादुर सार्कीले बताए । यसलाई पूर्णता दिन सबै स्थानीय तहमा पहल गर्ने उनको भनाइ छ ।

केही खस शब्द र अर्थ
ट्टिकी : बच्चा, सन्तान
क्याँद्दो : अब के गर्ने
कइथो माण्ठ : कस्तो मान्छे
नापानापा : कम, थोरै थोरै
छोट्याछोट्टी : छोराछोरी