अनुपमा खनाल
बिहिवार, फाल्गुन १६, २०७५
551

गोरखा - एक साताअघि नै साइत निकालेका लाप्राकीले मंगलबार धुमधामसँग मकैको बिहे गरे । फागुन कृष्ण अष्टमी, मकैको बिहेको लगन जुरेको दिन ।
बिहानैदेखि गाउँले चोखोनितो गरेर परम्परागत रुपमा मकैको बिहे गरे । धान नफल्ने र मकै नै मुख्य अन्नबाली भएकाले उनीहरुले बिहे गरेर मात्र मकै रोप्ने गर्छन् । मकैको बिहे गरेपछि मात्रै पाखोबारीमा मकै छर्ने बाटो खुलेको स्थानिय मार्सिङ गुरुङले जानकारी दिए । “मकैको बिहे नगरी बारीमा छर्न हुँदैन,” उनले भने, “हाम्रा पुर्खाले चलाएको चलन हो । मकैको बिहे नगरी मकै छर्दा घोगामा दाना लाग्दैन । घोगा लागे पनि पुड्के हुन्छ ।” परापूर्वकालदेखि चलेको चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको उनले बताए ।

वि.सं. १८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउन देवी देउतालाई पुकार्दै मकै बिहे गर्ने चलन शुरु भएको उनले तर्क गरे । गाउँका जैसी (पुरेत)ले बिहेको साइत निकालेर परम्परागत प्रक्रिया अनुसार मकै बिहे गर्ने चलन छ । परम्परा अनुसार सोमबार दिउँसो साढे तीन बजेको साइतमा मकैको घोगा जमिनमा गाडिएको थियो ।
त्यो मकै बिहान साढे ८ बजे जमिनबाट निकालेर बाजागाजा सहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गरेका थिए । “एउटा सानो केटालाई दुलाहा पनि बनाएर लैजान्छौं,” स्थानीय गुरुङले भने, “छुलेकङ्बाट दुलाहालाई डोलीमा बोकेर गाउँका सबै घरको जन्ती गयौं । गाउँको पुछार हुँदै मनिडाँडा मुनिबाट फिसीकङमा पुग्यौँ । त्यहाँ एउटी केटीलाई दुलही बनाएर राखेको थियो । अनि दुलही लिएर आयौं ।”
जन्तीको क्रममा गाउँलेले मादल, ढ्यांग्रो, झ्याली लगायतका बाजा बजाएर नाचगान गरेका थिए । छुलेकङ्बाट निस्केको जन्ती फिसीकङबाट दुलही लिएर घट्टेखोलाबाट पुरानो स्कुल हुँदै लाप्राकगाउँ घुमेर ठूलो आँगनमा पुगेपछि बिहे सकिएको स्थानीयले बताएका छन् ।
बिहे सकिएपछि साँझमा मकैको विभिन्न परिकार बनाएर भोज खाने चलन रहेको गुरुङले बताए । “बिहान नै सबैको घरबाट एक-एक घोगा मकै र पैसा उठाएका थियौं,” उनले भने, “गाउँलेले मिलेर त्यो मकै भुट्छन् । दुलही लिएर ठूलो आँगनमा आएपछि सबैलाई त्यो मकै खुवाउनुपर्छ ।” मकैको बिहेमा जन्ती जानेको मुखमा धेरथोर त्यो मकै पर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए । भोजपछि घाटु नाच देखाउने चलन छ । उनीहरुले सामूहिक रुपमा असिना, पानी, खडेरीबाट अन्न जोगाइदिन भगवानसँग प्रार्थना गर्ने चलन छ ।
मकैको बिहेका लागि जमिनमा मकै गाडेपछि नझिकेसम्म गाउँलेले जमिन नखोस्रने गुरुङले बताए । मकै बिहेको दिनमा गाउँमा कसैले पनि ढिकी, जाँतो, मेलापातको काम नगरी बारना गर्ने चलन रहेको उनले बताए ।
लाप्राकमा मात्र होइन, गोरखाको धार्चे गाउँपालिकाको विभिन्न गाउँमा पनि यही लगन पारेर धमाधम मकैको बिहे भएको छ । धार्चे–५ लप्सीबोट र धार्चे–७ लापुमा गत शनिबार मकैको बिहे भइसकेको छ । धार्चे–५ गुम्दा गाउँमा माघको १० गते भइसकेको स्थानीय कर्ण गुरुङले बताए । सिङ्ला, उहिया, खोर्ला, लापुमा पनि धुमधामले मकै बिहे भइसकेको उनले बताए ।