अमरराज आचार्य
बिहिवार, फाल्गुन २३, २०७५
510

प्युठान सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा अहिले कुसुण्डा भाषा सिक्दैछिन् । लमही नगरपालिका वडा नं. ६ कुलमोडमा बसेर उनले कुसुण्डा भाषा सिक्न थालेकी हुन् ।
उमेरले करिब १७-१८ वर्ष पुगेकी हिमा कुसुण्डा भाषा बोल्न जान्दैन थिइन् । तर केही दिनयता लिएको कक्षाका कारण उनले सामन्य नामहरु भन्न सक्ने भएकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. ५ माध्यमिक विद्यालय धर्नामा अध्ययनरत हिमा आफ्नो भाषा सिक्नकै लागि अहिले कुलमोडमा बस्छिन् ।

कुलमोडमा बसेर भाषा सिक्न थालेकी उनी आफ्नो मातृभाषा सिक्न पाउँदा खुशी देखिन्छिन् । “कुसुण्डा जातिको आफ्नै भाषा हुन्छ भन्ने सुनेकी थिएँ, तर सिकाउने कोही नभएकाले बोल्न जान्दैन थिएँ । कुसुण्डा भाषा सिक्न थालेपछि केही शब्द भन्न सक्ने भएको छु,” उनले भनिन् ।
आफ्नो भाषा सिक्न पाउँदा उनी उत्साहित छिन् । “सुरुमा आफ्नो भाषा नजान्दा लाज लाग्ने गथ्र्याे । तर अहिले विस्तारै विस्तारै सिक्दै गएको छु,” उनले भनिन् । भाषा सिक्न पाउँदा लोपोन्मुख अवस्थामा पुगेको कुुसुण्डा जातिको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उनी बताउँछिन् ।
सुर्केत गुर्वाकोट नगरपालिका–५ राजीगाउँ निवासी तेजु कुुसुण्डा पनि अहिले कुलमोडमै आफ्नो भाषा सिक्दै छन् । कुसुण्डा जातिहरुको आफ्नै मातृभाषा छ भन्ने सुनेको भएपनि ३२ वर्षिय तेजुलाई बोल्न आउँदैन थियो । तर अहिले कुसुण्डा भाषा कक्षा लिन थालेपछि घरपरिवारका सदस्यहरुलाई बोलाउने शब्द, जनावरहरुका नाम, शररका अंगलगायतका विभिन्न शब्दहरुको ज्ञान भएको उनी बताउँछन् । “कुसुण्डा जातिको आफ्नै मातृभाषा भएपनि मलाई केही पनि आउँदैन थियो । तर भाषा कक्षा लिन थालेपछि धेरै कुराको ज्ञान भएको छ,” उनले भने ।
कुसुण्डा भाषा सिक्ने धेरै पहिलेदेखि रहर भएपनि सिक्न नपाएका तेजुले अहिले भाषा आयोगको सहयोगमा भाषा सिक्न थालेका छन् । यसले आफूलाई भाषा सिक्न उत्प्रेरित गर्नुका साथै हराएर जाने अवस्थामा पुगेको भाषा सिक्न पाउँदा खुशी भएको बताउँछन् । “अहिले नेपालमा दुई जनामात्र कुसुण्डा भाषा बोल्न जान्ने मान्छेहरु हुनुहुन्छ । उहाँहरु पनि वृद्ध अवस्थामा पुगि सक्नुभएको छ,” तेजुले भने, “उहाँहरु बित्नुभयो भने हाम्रो भाषा नै लोप हुने अवस्थामा छ ।” आफ्नो भाषाप्रतिको माया र उत्साहका कारण आफू सुर्खेतबाट दाङसम्म भाषा सिक्नका लागि आउको उनी बताउछँन् ।
अहिले हिमा र तेजुजस्तै कुलमोडस्थित ज्ञानीमैयाँ कुसुण्डाको घरमा १० जना बालबालिका बसेर अध्ययन गरिरहेका छन् । उनीहरु दाङ, प्युठान र सुर्खेतका रहेका छन् । कुुसुण्डा जातिको भाषा सिक्न नयाँ पुस्ता अग्रसर भएपछि वर्षांैदेखि भाषा लोप हुन्छ कि भनेर चिन्ता गर्दै आएकी ज्ञानुमैयाँ कुसुण्डा समेत खुशी भएकी छन् । “आफ्नो भाषा नयाँ पिँढीले सिकोस् भन्ने लागेको थियो तर भाषा सिक्न कसैले चासो दिएनन्,” ज्ञानुमैयाँ कुसुण्डाले भनिन् । तर अहिले धेरे बालबालिकाहरु भाषा सिक्न आएका छन् । उनीहरुले भाषा सिक्छन् भन्ने मलाई विश्वास लागेको समेत बताइन् ।
नयाँ पुस्ताले भाषा सिक्न चासो देखाएपछि लोपोन्मुख अवस्थामा पुगेको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उनको विश्वास रहेको छ । नयाँ पुस्ताले आफ्नो मातृभाषा सिक्न चासो देखाएको कुसुण्डा भाषाका जानकारसमेत रहेका शिक्षक उदय आले बताउँछन् । कुसुण्डा भाषाको कक्षा सुरु भएपछि नयाँ पुस्ता भाषा सिक्न उत्साहित देखिएका छन् । “९० घण्टाको कक्षा सुरु भएको छ, यसको पहिलो चरणमा कुसुण्डा भाषासम्बन्धी विभिन्न शब्दहरु सिकाउने काम भइरहेको छ,” आलेले भने । प्रारम्भीक तहको कक्षामा बालबालिकाको राम्रो उत्साह देखिएको समेत उनले बताए । भाषा आयोगको कार्यक्रम उपलव्धीपूर्ण होस् र नयाँ पुस्ताले पनि आफ्नो भाषा सिकुन् भनेर अहिले स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई मात्र राखेर कक्षा सञ्चालन गरेको उनले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई सय १३ जना कुसुण्डा जातिका मानिसहरु रहेका छन् । मध्य दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह, काठमाडौ, मोरङ लगायतका जिल्लाहरुमा कुसुण्डा जातिको बसोबास छ ।
अहिले कुसुण्डा भाषा जानेका दुई महिलामात्र रहेका छन् । ८२ वर्षीय ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीय कमला कुसुण्डा आफ्नो भाषा पूर्ण रुपमा बोल्न सक्छन् ।