कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५
515

मंगलसेन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार जरिवाना तिरे । सामाजिक रुपमा लज्जित भएपछि मदिरा सेवन गर्न छोडिदिएको हर्क बताउँछन् ।
कारबाहीमा पर्नुअघि दिनभर मदिरामा लठ्ठिहने हर्क दुई महिनायता घरायसी र बाह्य काममा समेत सक्रिय छन् । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन् । स्वास्थ्यमा पनि समस्या हुने, आर्थिक रुपमा पनि एक वर्षको अवधिमा डेढ लाख मदिरामै सकियो होला,” रानाले भने, “अब त मदिरा सेवन गर्दैन ।” आफूले रक्सी छोडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुसी मनाएको उनको भनाइ छ ।

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याएको भन्दै मंगलसेन नगरपालिका र १ नम्वर वडा कार्यालयले मदिरामा कडाइ गरेपछि महिलाहरु सबैभन्दा बढी खुसी छन् ।
मंगलसेन नगरपालिकाले नगरक्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यअस्त नहुँदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । वडा नम्बर १ ले मदिरा व्यवस्थापनमा नमुना कार्य गरेको भन्दै वडाका सरोकारवाला खुसी छन् । स्थानीय समाजसेवी रामराज नाथ भन्छन्, “मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा निकै फाइदा भएको छ । अब मदिरा रहित समाज बनाउन सबै लाग्नुपर्छ ।”
करिब १ वर्षको अवधिमा ३९ जना कारबाहीमा परेका छन् । जरिवानाबापत ४५ हजार ५ सय राजस्व संकलन भएको छ । अझै १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिए ।
यसअघि बिहानैदेखि मदिरा सेवन गर्ने पुरुषहरु वडाको नियमपछि सुध्रिएको महिलाहरुको भनाइ छ । महिला स्वंसेविकासमेत रहेकी मोति साउदले मदिरा सम्पूर्ण रुपमा बन्द हुनुपर्ने माग गरिन् । उनले भनिन् “मदिराले धेरैलाई घरबार बिहिन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो । त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ ।” वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमुना बनाउने अभियानमा आफू लागेको बताँउदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताए ।
वडानम्बर २ का अध्यक्ष मान बहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको रहेको भन्दै आफूहरु सामूहिक रुपमा मदिराविरुद्ध लागिरहेको बताए । यता मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले जस्तोसुकै चुनौती आईलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने दाबी गरे । नगर प्रमुख बोहराले भने, “नगरको १ नम्बर वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडा र मंगलसेन बजारमा पनि मदिरा व्यवस्थापन गरिन्छ । समाजको दुस्मनका रुपमा रहेको मदिराले धेरै युवालाई बर्बाद बनाइरहेकाले मदिरालाई हामीले त्याग्नै पर्छ ।”
मंगलसेन नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशिल कार्यमा लगाउने लक्ष्य राखेको छ ।

होम साउद