कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
587

डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नम्बर १, २ र ३ मा खेलिने परम्परागत होलीको संरक्षणका लागि डडेल्धुरा जिल्ला सदरमुकाममा होली कार्यक्रम आयोजना गरिएको छ । समय परिर्वतनसँगै युवाहरुले परम्परागत रुपमा खेलिने होली खेल्न छोड्दा संस्कृति हराउन थालेको भन्दै तीनवटै वडाका रुपाल, वोकटा, लामिकाडे गाउँका स्थानीयले होली कार्यक्रमको आयोजना गरेका हुन् ।
जिल्ला सदरमुकाममा व्यापार व्यवसाय र रोजगारीका लागि बस्दै आएका तीनवटै गाउँका स्थानीयले विगत ७ वर्षदेखि होली आयोजना गर्दै आइरहेका छन् । भारतको कुमाउमा होलीसँग मिल्दोजुल्दो गरी खेलिने यो होली सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध होलीको रुपमा चिनिन्छ ।

रुपाल भागेश्र समाज होली समिति गठन गरी प्रत्येक वर्ष होलीको आयोजना गरिँदै आएको छ । युवाहरुले परम्परादेखि खेलिँदै आएको होलीलाई बिर्संदै गइरहेकाले प्रत्येक वर्ष विशेष होलीको आयोजना गरिन थालेको रुपाल भागेश्वर समाज होली समितिका अध्यक्ष रमेश जोशीले बताए ।
होलीमा भगवान राम र कृष्णको महिमा गाइन्छ । समूह बनाई सदरमुकाम क्षेत्रमा बस्दै आएका रुपात तथा भागेश्वर गाविसका स्थानीय घरघरमा गएर होली खेलिने गरिन्छ ।