कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
458

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा शुक्रबारदेखि आइतबारसम्म विज्ञ सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
सघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । कार्यक्रमका संघका अध्यक्ष भवन भट्टले विश्वभर छरिएर रहेका स्वदेश तथा विदेशमा रहेका ‘थिंक ट्यांक’ हरूको भेला हुने भएकाले देशको आर्थिक समृद्धिका लागि राम्रो सुझाव आउने बताए । सम्मेलनको उद्घाटन अघि संघको विधानसभाको समेत आयोजना हुने उनले बताए । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले सो सम्मेलन आयोजना गर्न लागिएको हो ।

विदेशमा नेपालीले कमाएको पुँजीमात्रै नेपाल भित्रिरहेको परिपे्रक्षमा विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्न सम्मेलनको आयोजन गर्न लागिएको एनआरएनएका उपाध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक कुमार बताए । विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको उपाध्यक्ष भट्टले जानकारी दिए । सम्मेलनको पहिलो दिन उद्घाटन र दोस्रो दिन ५ वटा प्लेनरी सत्र आयोजना हुनेछ ।
सम्मेलनका अर्का संयोजक डा. हेमराज पन्तले पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुने बताए । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुने जनाइएको छ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरू पनि समावेश गरिनेछ । दोस्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू रहनेछन् । तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ । अन्त्यमा सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरिने कार्यक्रम छ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श हुनेछ ।