कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
392

आन्दोलनरत अवकाश प्राप्त गोरखा सैनिकहरुलाई सहयोग गर्नका लागि प्रतिनिधिसभाका सांसदहरुको सहयोग समिति बनेको छ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईको संयोजकत्वमा ‘गोरखाहरुको निम्ति संसदीय सहयोग समिति’ बनाइएको हो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को आह्वानमा बनाइएको समितिको सहसंयोजकमा सांसद राजेन्द्र राई छन् । धनकुटाबाट प्रतिनिधिसभामा विजयी सांसद राई अवकाश प्राप्त गोरखा सैनिकका सन्तान समेत हुन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य संयोजक भट्टराईले लामो समयदेखि गोरखाहरुको न्यायिक संघर्षमा सहयोग गर्दै आएका छन् ।

गोरखाहरुको समस्या सम्बोधनको निम्ती पहल, अगुवाई र दबाब सृजना गर्न सहयोग समिति बनाइएको गेसोका सभापति कृष्णकुमार राईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विज्ञप्तिमा भनेका छन्, “हाम्रा गम्भिर समस्या सम्बोधनको निम्ति नेपाली जनताहरुको विश्वासको थलो प्रतिनिधिसभा र सांसदज्यूहरुको भूमिका महत्वपूर्ण रहने हाम्रो बुझाइ छ । गोरखाहरुको माग सम्बोधनको निम्ती पहलकदमी, अगुवाई र दबाबको निम्ती हामीले प्रतिनिधिसभाका सांसदहरुको सम्मिलित ‘गोरखाहरुको निम्ति संसदीय सहयोग समिति’ निर्माण गरेका छौं ।”
नेपाली युवाहरुले बेलायती सेनामा भर्ती भएर ब्रिटिस गोरखा सैनिकको रुपमा काम गरेको दुई शताब्दी पूरा भएको छ । नेपालीहरुले सन् १८१६ देखि आजसम्मका प्रत्येक सैनिक मोर्चाहरुमा ब्रिटिसको पक्षबाट लडेका छन् । यसबीचमा गोरखा सैनिकहरुले १३ वटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रससहित ६५०० ठूला तक्माहरु पाए । हजारौंको संख्यामा बहादुरीका विभूषण पाए । यसबीचमा हाम्रा हजारौं नेपाली युवाहरु मारिए ।

गोरखाहरुलाई सहयोग गर्न बनेको समितिका संयोजक सांसद भट्टराईले गोरखाहरुको समस्या देशकै समस्या भएको बताए । उनले भने, “नेपाली नागरिकहरुकै न्यायपूर्ण आन्दोलनमा सहयोग गर्नु हामी सबैको दायित्व पनि हो । यो समस्या देशकै समस्या हो ।” बेलायत सरकारले समेत गोरखाहरुमाथि विभेद रहेको स्वीकार गरीसकेपछि समस्या सम्बोधन हुनुपर्ने उनको भनाइ छ ।