कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
299

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी डिसेम्बर २९ र ३० मा पूर्वी अफ्रीकी मुलुक युगान्डाको राजधानी कम्पाला सहरमा आयोजना हुने भएको छ । यस बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद् (र्आइसीसी) का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहने छ ।
सो क्षेत्रीय बैठकको मूल नारा ‘विकासका अनुभवहरु एक आपसमा साट्दै’ भन्ने रहेको छ । यसै विषयमा केन्द्रित भएर विभिन्न सत्रहरु हुनेछन् । जसअनुरुप अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुने छ । साथै नेपाली श्रमिकहरुले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभवबारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी गैरआवासीय नेपाली संघ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिए ।
कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्रीमध्ये एकलाई निमन्त्रणा गरिनेबारे छलफल चलिरहेको समेत बताए । उक्त बैठक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगान्डाको आतिथ्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी राष्ट्रिय समन्वय परिषद् युगान्डा अध्यक्ष राजमणि भण्डारीले दिएका छन् । बैठकका मूल विषयलगायत अफ्रिकन र नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्यमाथि गोष्ठी समेत आयोजना गरिनेछ ।