कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
369

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संघका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको निधनप्रति गहिरो शोक प्रकट गरेको छ । संघले विज्ञप्ति जारी गर्दै भट्टको निधनबाट मुलुकले एक कुशल राजनीतिज्ञ र ख्यातिप्राप्त समाजसेवी गुमाएको जनाएको छ । ‘यस दुखद् घडीमा गैरआवासीय नेपाली संघ र संघका सदस्यहरु स्वर्गीय भट्टको आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यसैगरी संघका अध्यक्ष भट्ट र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस शोकको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
वि.सं. २००१ मा गोरखाको भीमसेन गाउँपालिका कुबिन्डेमा जन्मेका भएका भट्ट समाज सेवामा सक्रिय थिए । पहिले राजनीतिमा संलग्न भट्ट वि.सं. २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए । स्वर्गीय भट्टका श्रीमती, तीन छोरा र तीन छोरी छन् । भट्टको यही मंसिर ९ गते आइतबार जापानको टोकियोमा ७५ वर्षको उमेरमा निधन भएको हो ।