कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
475

वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका सोलुखुम्बु जिल्लाबासीहरुले गत शुक्रबार शारजहाँमा प्रथम भेला सम्पन्न गरेका छन् । यूएईमा प्रायः सबै जिल्लाका समाजहरु रहेको र आफ्नो जिल्लाको समाज नभएको हुँदा समाज निर्माण गर्ने योजनाका साथ भेलाको आयोजना गरिएको भेलाका सभापति चामुसिङ राईले जानकारी दिए ।
यूएईमा प्रायः सबै नेपालीले आफ्नै समाज निर्माण गर्दै आफ्नैपन पाएको र सोलुखुम्बुबासीहरुले आफ्नोपन पाउन आफन्त भेटघाट गर्ने स्थान नभएको अनुभव सुनाउँदै उनले अब त्यसको अन्त्यको लागि समाज निर्माणको प्रक्रियामा अगाडि बढेको बताए । यूएईमा विभिन्न क्षेत्रमा छरिएर रहेका सोलुखुम्बुबासीहरुलाई पनि अब समाजको सम्पर्कमा आउन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष भुपराज बस्यालले यूएईमा खुल्दै गरेको समाजले यूएईमा मात्रै नभए नेपालमा पनि केही आर्थिक उन्नतिका काम गर्न सुझाव दिए । भेलाबाट निर्वाचित अध्यक्ष कृपाध्वज गिरीले यूएईमा रहेका अन्य समाज नेपाली राजदूतावाससँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
गिरिले यूएईमा रहेका संघसंस्थाको बीचमा आफ्नो संस्थालाई नमुना संस्थाको रुपमा स्थापित गर्ने बताए । ६ महिनाभित्र विधान, लोगोलगायतका सम्पूर्ण काम पूरा गर्दै प्रथम अधिवेशन गर्नुपर्ने निर्णयका साथ भेलाले समिति गठन गरेको छ ।