कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
221

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्वीट्जरल्याण्डको महिला फोरमले नेपालको पहिलो अस्पताल वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेको छ । हालै काठमाडौँको वीर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताललाई फोरमले करिब १ लाख २ हजार मूल्य बराबरको १२ वटा ह्वीलचेयर सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।
नेपाल र नेपालीको हितमा आफूलाई सदैव उभ्याउँदै आईरहेको एनआरएनए स्वीट्जरल्याण्डको महिला फोरम र उक्त फोरमको नेतृत्व गरिरहेकी संयोजक शुभ एल्मर लामाको संयोजन र विजया भट्टको पहलमा आर्थिक संकलन गरी १२ वटा ह्वीलचेयर वीर अस्पताललाई प्रदान गरिएको हो ।

वीर अस्पतालमा देशभरबाट उपचारका लागि आउने बिरामीहरुको भीड लाग्ने गर्दछ । तिनै बिरामीहरुको सेवामा अलिकति भए पनि सहयोग पुगोस् भन्ने हेतुले ह्वीलचेयर प्रदान गरिएको बताउँदै एनआरएनए स्वीट्जरल्याण्डको पूर्व उपाध्यक्ष एवं महिला फोरम सदस्य विजया भट्टले आफूहरुले गरेको सहयोग अस्पतालको लागि सामान्य हुन सके पनि मानवीय भावनासहित उठेका सहयोगी हातहरुले गरिएका सहयोग बास्तवमै अतुलनीय हुने बताइन् ।
भट्टले भनिन्, “हामी नेपालीहरु देश छाडेर विदेशका कुनै पनि कुनामा बसिरहँदा पनि हामीलाई नेपाल र नेपालीपन अनि नेपाली मनले सदैब घच्घच्याइरहेको हुन्छ । नेपाल भन्नेबित्तिकै कान चनाखो हुन्छ अनि मन प्रफुल्लित हुन्छ । त्यसैको प्रतिफल होला सायद नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा हाम्रो मन हर्षले विभोर हुन्छ ।”
गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्ड महिला फोरमले नेपालमा यस प्रकारका सहयोगी हातहरु धेरै ठाउँमा फैल्याइसकेको उनले बताइन् । नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा फोरम एकदम खुशी हुन्छ । एनआरएनए महिला फोरम स्वीट्जरल्याण्डकी संयोजक शुभ एल्मर लामा आफैँ एक सामाजिक अभियन्ता हुन् । उनकै नेतृत्वमा रहेको महिला फोरमले स्वीट्जरल्याण्डमा विभिन्न कार्यक्रम गर्ने गर्दछ र हरेक कार्यक्रमबाट केही न केही सहयोग रकम संकलन गरेर नेपाल र नेपालीको हितमा लगाइरहेको हुन्छ ।
उनले भनिन्, “सोही फोरमको नेतृत्वमा हामी स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुले गरेको केही सहयोगबाट आज हामीले नेपालको पहिलो सरकारी अस्पतान वीर अस्पतालका बिरामीहरुको सेवामा सहयोग पुगोस् भनी ह्वीलचियर प्रदान गर्ने निर्णय गरी हामीले आज यो कार्यक्रम आयोजना गरेका हौं ।”
कार्यक्रममा वीर अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्माले गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेर मानवीय सेवाको क्षेत्रमा ठूलो सराहनीय कार्य गरेको र यस प्रकारको कार्यले बिरामीहरुको लागि सहजता हुने र सबै पक्षलाई सन्तुष्टि प्राप्त हुने भन्दै फोरम तथा सिंगो एनआरएनएलाई अस्पतालको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा उपसचिव टेकराज अर्याल, ईएनटी विभागका डा. जयेन्द्र प्रधानाङ्ग, वीर अस्पताल नर्सिङ विभाग प्रशासक रिना श्रेष्ठ तथा एनआरएनए सेक्रेटेरिएटका सिइओ डा. हेमन्त दवाडी, डाइरेक्टर संगिता अवाले लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।