कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५
617

गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । युगान्डाको राजधानी कम्पालामा हुने सो बैठक ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको हो ।
आयोजक एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीले पुस १४ र १५ गते हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाए । सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुने जनाइएको छ । बैठकमा मानव तस्करी र अफ्रिकी पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभवबारे कार्यपत्र प्रस्तुत र छलफल गरिने एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिएका छन् ।

सो बैठकका क्रममा नेपाली श्रमिकले अफ्रिकाका विभिन्न देशमा भोग्नु परिरहेका समस्याका बारेमा समेत छलफल हुनेछ । सो बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिको सहभागिता संघले जनाएको छ । बैठकको उद्घाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक विकास र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत हुने नेपाल ब्रिटेन डटकमले जनाएको छ ।
त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नुपरेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरुद्वारा ट्रान्जिटमा अफ्रिका पु-याइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलले बताएका छन् । बैठकका क्रममा अफ्रिकी र नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्य गोष्ठीसमेत आयोजना गरिने एनआरएनए राष्ट्रिय समन्वय परिषद् युगान्डाले जनाएको छ ।