कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५
436

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघबीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा छलफल भएको छ । नेपाली नागरिकता निरन्तरता कार्यदलको पहलमा संसद् सचिवालयमा भएको बैठकमा गैरआवासीय नेपालीहरूको सरोकारको विषयमा छलफल भएको हो ।
नेपाल नागरिकता ऐन २०६३ संसोधनसम्बन्धी विधेयकमा उल्लेख भएका विषयमा संघका तर्फबाट औपचारिक धारणा राखिएपछि समितिका सदस्य सांसदहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए । समिति र संघबीच भएको दुई घण्टा लामो छलफलमा सांसदहरूले गैरआवासीय नेपालीलाई संविधानमा उल्लेख भएअनुसारकै अधिकार प्रयोग हुने गरी सहज ढंगले नागकिरता प्रदान गर्ने व्यवस्था ऐनमा गर्न सहमति जनाएका छन् ।

संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा छलफलमा सहभागी भएको टोलीका तर्फबाट संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले ऐनमा एनआरएनको सरोकारका विषयहरू राखेका थिए । उनले नागरिकता लिनु भनेको देशप्रति थप जिम्मेवार बन्नु हो भन्दै देशप्रतिको जिम्मेवारी बोक्ने हैसियतको नागरिकता प्रदान गर्न आग्रह गरेका थिए ।
नेपाली नागरिकताको निरन्तरता कार्यदलका सहसंयोजक खगेन्द्र जिसी र कार्यदलका सदस्य तथा पूर्व प्रवक्ता मन केसीले सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार पूर्ण रुपमा अन्य नेपाली नागरिकसरह नै उपयोग गर्न पाउने गरीको नागरिकता सहज ढंगले लिन सक्नेगरी व्यवस्था ऐनमा गर्न आग्रह गरे । उनीहरूले नागकिरता दिँदा गृह मन्त्रालय अन्तर्गतका सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अतिरिक्त विदेशी दूतावासबाट पनि दिने व्यवस्था ऐनमै राख्न सुझाव दिए ।
छलफलका क्रममा सांसदहरूले गैरआवासीय नेपाली नागरिकता अधिकारसहित, सहज रुपमा प्राप्त गर्ने व्यवस्था गर्न राज्य व्यवस्था तथा सुशासन समिति तयार भएको बताएका थिए । समितिका सदस्यहरू पम्फा भुषाल, नवराज सिलवाल, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, राजेन्द्र श्रेष्ठ, रेखा शर्मा, महेश्वर जंग गहतराज लगायतले एनआरएनलाई दिने नागरिकताले स्वदेशलाई धेरै फाइदा पुग्ने भएकोले यसमा कुनै पनि शंका मान्नुपर्ने कारण नभएको बताएका थिए ।
बैठकमा सहभागी कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले एनआरएनलाई नागरिकता दिनु देशको लागि नै हित भएकोले आफूले पनि यसमा संशोधन राखेको बताए । त्यस्तै संशोधनकर्ता तथा सांसद सूर्य पाठकले विश्वको विकासमा बिदेसिएका नागरिक फर्किएर गरेको योगदान महत्वपूर्ण रहेकोले एनआरएनलाई स्वदेशमा आउने वातावरण बनाउन पनि नागरिकता ऐनमा सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
छलफलमा संघको तर्फबाट अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक तथा सस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाली नागरिकताको निरन्तरता कार्यदलका सह संयोजक (अमेरिकाज) खगेन्द्र जिसी, सदस्य मन केसी, फोकल पर्सन सरोज दाहाल, कार्यकारी प्रमुख हेमन्त दवाडी, कृषि प्रवद्र्धन उपसमितिका संयोजक युवराज गुरुङ, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल, पूर्व आइसिसी सदस्य डा. राजु अधिकारी, एनआरएन अमेरिकाका विनोद अधिकारी, तिलक भण्डारी लगायतको सहभागिता रहेको थियो ।