कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५
472

एनआरएनए अमेरिकाले अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान र प्राध्यापन गरिरहेका नेपाली विज्ञतालाई नेपालको विकासमा लगानी गर्ने लक्ष्यसहित विज्ञ सम्मेलनको आयोजना गरेका छन् । अमेरिकामा रहेका नेपालीले आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा जोड्न एकजुट भएर छलफल गरेका छन् ।
जनवरी १९ तारिख शनिबार वाशिङ्टन राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा कार्यपत्र प्रस्तुत गरेर विज्ञ सम्मेलन गरेको एनआरएनए अमेरिकाले जनाएको छ । सो क्षेत्रीय विज्ञ भेलामा प्रस्तुतिको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डेका अनुसार एनआरएनको घोषित कार्यक्रमअनुसार नै अमेरिकामा आर्जन गरेको सिप, क्षमता र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गरेको हो ।

‘एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिङ कन्फरेन्स’ नाम दिइएको यो भेला एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम आयोजक समितिका तर्फबाट पशुपति पाण्डेले ज्ञान अनुभव र विज्ञता भएका नेपालीहरूको साथले एनआरएनए अमेरिकाको छवि माथि उठाउन सहयोग पुगेको बताए । एनआरएन अमेरिका नवीन सोचले भरिएका व्यक्ति र रचनात्मक हातलाई साथमा लिएर अगाडि बढ्न चाहिरहेको छ भन्ने सन्देश यस कार्यक्रमले आम मानिसमा पु¥याएको उनको भनाइ थियो ।
विषयवस्तु र विज्ञहरूको प्रस्तुतिमा रुची भएका क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, सियाटल, भेन्कुवर (क्यानडा) बाट नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम हो । कार्यक्रममा विज्ञहरूको प्रस्तुतिपछि त्यसमाथि अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा डा. तारा सिग्देलले बायो टेक्नोलोजी, डा. नवीन खनालले सूचना प्रविधि, डा. द्रोण रसाइलीले सोसोलोजी, वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले विदेशी भूमिमा नेपाली भाषाको जगेर्ना र अमेरिकामा नेपाली भाषालाई दिलाइएको क्रेडिट, ई पशुपति पाण्डेले साइन्स, टेक्नोलोजी, इनोभेशन समितिले गरिरहेका काम र भावी योजना, सुवास प्रजापतिले सङ्गीत, सुनिल शाहले योङ इन्टरपिनर र डा. अर्जुन बन्जाडेले शिक्षा सम्बन्धमा प्रस्तुति दिएका थिए ।