कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
391

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवासीय नेपाली संघको टोलीले सहभागिता जनाएकोे छ । उक्त प्रभातफेरी पुतलीसडक, बागबजार हुँदै भृकुटीमण्डपमा गएर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीको सुरुमा नै महिला संयोजक रजनी प्रधानले महिलाका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता र विभेदरहित व्यवहार हुनुपर्नेमा जोड दिँदै समान समाज निर्माणका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औंल्याइन् । केही सीमित लैंगिक समानताको प्रगति भएता पनि सबै क्षेत्रमा समानता प्रत्याभूत हुने गरी समान अवसर, समान सहभागिता र समान पहुँचमा नेपाल सरकारलगायत सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार र समृद्धिको आधार’ भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको -यालीमा सहभागी संघसंस्थाहरुले ‘महिला हिंसा अन्त्य गरौं’ जस्ता महिला हिंसा विरुद्ध लेखिएका प्लेकार्ड बोकेका थिए । समारोहमा महिला हिंसा अन्त्य गर्नेबारे प्रतिबद्धता गरिएको ब्यानरमा गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजक रजनी प्रधानले हस्ताक्षर गरेकी छिन् ।
यसै अवसर पारेर संघको महिला फोरम तथा रक्तसञ्चार उपसमितिको सहयोगमा रत्नपार्कस्थित शान्तिबाटीकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ३० जना भन्दा व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संघका महिला संयोजक रजनी प्रधानले प्रमाणपत्र वितरण गर्नुका साथै यस्तो पुनित कार्यमा सहभागिता जनाएकोमा आभार प्रकट गरेकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला संयोजक रजनी प्रधान, स्पेनका आइसिसि सदस्य शितल भूर्तेल, एनआरएन जर्मनीका इम्प्रेस सिंह लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरु र सचिवालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।