यूएईका जेलमा १८५ नेपाली
कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
479

वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सात वटै इमिरेट्सहरुमा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।
राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।
मद्यपानका कारण ९५ जना नेपालीले युएईमा जेल भुक्तान गरिरहेका छन् । यस्तै अवैधानिक काम र बसाईका कारण १८ जना, भौतिक आक्रमण वा सम्पत्ति नष्टको आरोपमा १८ जना, चोरी मुद्दामा १५ जना, व्यभिचारका कारण १० जना हत्याको आरोपमा नौ, लागुऔषधका कारण ६ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेको राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।