कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५
506

टोकियो -जापान सरकार तथा टेलिकम्युनिकेशन युनियन जापानको विशेष सम्मान लिन जापान आएका डा. महाविर पुनसँग गैरआवासीय नेपाली संघ जापानले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए एनसिसि जापानका अध्यक्ष टासि वाङदी लामाले कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राखेका थिए । यसरी नै आईसिसि सदस्य ओम गुरुङले डा. महाविर पुनले शुरु गरेको नेपाल आविष्कार केन्द्र र देश विकासमा विज्ञान तथा आविष्कारको आवश्यकता तथा पुनले गरेका गतिविधिहरु बारेमा जानकारी गराएका थिए ।
आविष्कार केन्द्रका अध्यक्ष तथा एनआरएनएका सल्लाहकार डा. पुनले आविष्कार केन्द्रको आवश्यकता र महादान अभियानको बारेमा जानकारी गराउँदै आ–आफ्नो ठाउँबाट सहभागि हुन अनुरोध गरेका थिए । देशको विकासको लागि विज्ञान र प्रविधिको विकासका संरचनाको विस्तार गर्नुपर्ने जोड दिँदै प्रतिभा र क्षमता भएका जनशक्तिलाई पहिचान गरी राज्यले विशेष प्राथमिकताका साथ तिनको प्रतिभा प्रष्फुटन गर्न आह्वान गरे । उनले नेपालको विकासको लागि राज्यले बौद्धिक पलायनलाई रोक्नुपर्ने बताउँदै प्रविधिलाई अपनाउन सुझाव दिएका थिए । पुनले आविष्कार केन्द्रले विज्ञान र प्रविधिमा नयाँ नयाँ खोज गरिरहेको बताउँदै यसका लागि उपयुक्त वतावरण बनाउन तथा नया प्रविधिको विकास गर्न आर्थिक सहयोग आवश्यक परेको भन्दै महादान गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै आईसिसि युवा संयोजक सुदन थापाले अबको विकास प्रविधि विना सम्भव नभएको तर सरकारले गर्नुपर्ने काम डा. पुनले शुरु गरेको भन्दै सहयोगको लागि अनुरोध गरेका छन् ।
एनआरएए प्रवक्ता भुषण घिमिरेले अब गैरआवासीय नेपालीहरुको पूँजी मात्र होइन उनीहरुले विदेशमा आर्जन गरेका ज्ञान सीप र प्रविधिलाई पनि नेपालको विकासमा सदुपयोग गर्नुपर्ने बारे आफ्नो धारणा राखेका थिए । उनले यसैलाई मध्यनजर गरेर यही आउने अक्टोवरमा काठमाडौंमा एक विज्ञ सम्मेलनको आयोजना हुन गईरहेको जानकारी गराउनुका साथै यसमा आविष्कार केन्द्रसँग सहकार्य गरिने बताए । साथै उनले यस सम्मेलनको पूर्व विभिन्न क्षेत्रहरुमा यसको तयारीको लागि क्षेत्रीय सम्मेलनको आयोजना हुन गईरहेको पनि जानकारी पनि गराएका थिए ।
आविष्कार केन्द्रलाई एनआरएनए जापानको तर्फबाट अध्यक्ष टासि वाङदी लामाले एनसिसि जापानको तर्फबाट एक लाख ऐन तथा चितवन समाज जापानको तर्फबाट अध्यक्ष राजन श्रेष्ठले २५ हजार ऐन सहयोग प्रदान गरेका छन् । डा. पुनले सहयोगको लागि घन्यबाद व्यक्त गर्दै केन्द्रलाई आर्थिक सहयोगका साथै जनशक्ति एवं अन्य सहयोगको लागि अनुरोध गरे ।