कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५
5811

यूएई -रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दै अवैधानिक हुन्डीलाई अन्त्य गर्न यूएईस्थित नेपाली राजदूतावासले सुझाव संकलन गरेको छ । यूएईमा रहेका राजनीतिक दलका भ्रातृ संगठनका प्रतिनिधिहरू, संघ–संस्थाका प्रतिनिधिहरू, नेपाल बिजनेस काउन्सिल र पत्रकारहरूको उपस्थितिमा दूतावासले सुझाव संकलन गरेको हो ।
श्रम काउन्सिलर भेषबहादुर कार्कीले संकलन गरिएको सुझावका आधारमा नेपाल सरकारलाई सिफारिस गरिने जानकारी दिए । कार्यक्रममा द्वितीय सचिव विष्णु अधिकारीले रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके देशमा रोजगार सिर्जना हुने भन्दै वैदेशिक रोजगारले निम्त्याएका समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
श्रम सहचारी मोतीराम भुसालले रेमिट्यान्सका सकारात्मक पक्ष र अवैधानिक बाटो हुन्डीले निम्त्याउन सक्ने जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आपराधिक गतिविधि नियन्त्रण गर्न वैधानिक बाटोबाट रेमिट्यान्स पठाउनुपर्नेमा जोड दिए ।
दूतावासलाई सुझाव दिने क्रममा नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति भुवानीप्रसाद तिमल्सिनाले रेमिट्यान्स गर्ने नागरिकलाई सरकारले स्वदेश फर्किएपछि स्वास्थ्य, शिक्षालगायतमा केही सहुलियत दिनुपर्ने बताए । प्रवासी नेपाली संघका अध्यक्ष श्याम कँडेलले सरकारले कडाइका साथ नियम लागू गर्न सके हुन्डी पूर्णरूपमा बन्द हुने बताए । एनआरएनए अध्यक्ष रमेश श्रेष्ठ सरकारले पुनः श्रम स्वीकृति दिँदा वैधानिक बाटोबाट रेमिट्यान्स गरेको कागजपत्र खोज्ने नियम बनाउन सुझाव दिए ।
कार्यक्रममा नेपाली राजदूतावास आवुधावीका कार्यवाहक राजदूत सागर फुयाँलले आएका सल्लाह र सुझाव सरकारलाई पठाइने जानकारी दिए ।

सुनकाण्डपछि रेमिट्यान्स बढ्यो : बैंकका प्रतिनिधि
यूएईमा रहेका बैंकका प्रतिनिधिहरूको संस्था रेमिटयान्स सरोकार समूहले आफ्ना ८ बुँदासहितको सुझाव कार्यवाहक राजदूत सागर फुयाललाई बुझाएको छ । युएई एक्सचेन्सका प्रतिनिधि सन्तोष प्रसाईंले सरकारले चाहेमा हुन्डी बन्द गर्न सक्ने बताए । उनले नेपालमा चर्चामा रहेको साढे ३३ किलो सुनकाण्डपछि युएईमा रेमिट्यान्स गर्नेहरू बढेको जानकारी दिए ।
-भुपराज बस्याल