हुण्डी अन्त्य गर्न दूतावासद्वारा सझाव संकलन
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
1551

यूएई- रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दै अवैधानि माध्यम हुण्डीलाई अन्त्य गर्न नेपाली दूतावास आबुधाबीले विभिन्न संघसंस्थाको उपस्थितिमा सुझाव संकलन गरेको छ ।
यूएईमा रहेका राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, नेपाल बिजनेस काउन्सिल तथा पत्रकारहरुको उपस्तिथिमा भएको कार्यक्रममा उपस्थित सहभागीबाट सुझाव संकलन गरिएको हो । संकलित सुझाव सरकारलाई सिफारिस गरिने श्रम काउन्सिलर भेषबहादुर कार्कीले जानकारी दिए । दूतावासका द्वितीय सचिव विष्णु अधिकारीले रेमिट्यान्सको सही सदुपयोग अथवा रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना हुने भन्दै वैदेशिक रोजगारले निम्त्याएका समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
श्रमसहचारी मोतिराम भुसालले रेमिट्यान्सका सकारात्मक पक्ष र अवैधानिक बाटो हुण्डीले निम्त्याउन सक्ने समाजिक प्रभाव तथा हुण्डी प्रयोग गर्दा हुन सक्ने कारबाहीको बारेमा कार्यपत्र प्रस्तुत गर्दै अपराधिक गतिविधि नियन्त्रण गर्न वैधानिक बाटोबाट रेमिट्यान्स पठाउनुपर्ने उल्लेख गरे । नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति भवानीप्रसाद तिमल्सिनाले रेमिट्यान्स गर्ने नागरिकलाई सरकारले स्वादेश फर्किएपछि स्वास्थ्य, शिक्षालगायतमा केही सहुलियत दिन सके अवैध बाटो बन्द हुने धारणा राखे ।
प्रवासी नेपाली संघका अध्यक्ष श्याम कँडेलले सरकारले कडाइका साथ नियम लागू गर्न सके हुण्डी पूर्ण रुपमा बन्द हुने बताए । त्यस्तै, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले सरकारले पुनः श्रमस्वीकृति दिँदा वैधानिक बाटोबाट रेमिट्यान्स गरेको कागजपत्र खोज्ने नियम बनाउने हो भने अवैधानिक बाटो हुण्डी बन्द हुने धारणा राखे । उपस्थित सहभागीले सरकारले रेमिट्यान्स कार्ड बनाएर त्यही कार्डअनुसार रेमिट्यान्स गरेको आधारमा सरकारी सुविधाहरुमा छुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुयाँलले आएको सल्लाह सुझाव सरकारलाई पठाइने बताए ।

छुट र अफरले प्रोत्साहन
पैसा पठाएबापत एक्चेन्ज हाउसहरुले प्रदान गर्ने विभिन्न उपहार योजनाले रेमिट्यान्सलाई प्रोत्साहन गरेको छ । यूएई एक्सचेन्जले गत वर्ष रेमिट्यान्स पठाउने २१ जना नेपालीलाई नेपाल आउन जानको लागि टिकटको व्यवस्था गरेको थियो । चिठ्ठामार्फत् यो योजना २१ जनालाई दिएको हो । यस वर्ष पनि दशंै विशेष चिठ्ठा योजना ल्याउने तयारी गरिरहेको यूएई एक्सचेन्जका प्रबन्धक सन्तोष प्रसाईंले जानकारी दिए ।
मुस्लिम धर्मको विशेष चाडको अवसर पारेर पछिल्लो समय ल्याएको अफरमा पैसा पठाएबापत दैनिक एक जनालाई २ हजार ५०० डलर, हप्तामा एक जनालाई ५ हजार डलर र महिनाको अन्तिममा एक लाख डलरको भाग्यशाली योजना यूएई एक्सजेन्जले ल्याएको छ ।