कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
602

सप्तरी -सप्तरीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षमा जिल्लाबाट झण्डै १३ हजार युवा वैदेशिक रोजगारीमा गएको सप्तरी सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौं भएको रहेको छ । यसअघि सप्तरी सातौं स्थानमा रहेको थियो । सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलका अनुसार आव २०६८/०६९ देखि आव ०७३/०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

सबैभन्दा बढी मलेसियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, यूएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१/०७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी केन्द्रमा निवेदन दिएको उनले बताए ।
केन्द्रको तथ्यांकअनुसार राहदानी र पैसा लिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् ।
स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट ती मध्ये ८ सय १८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिए ।
यता विदेश जानुपूर्व विभिन्न सीप सिकेर तथा सही सूचना लिएर मात्र वैदेशिक रोजगारमा जानका लागि अहिले जिल्लाको विभिन्न स्थानीय तहलाई समन्वय गर्न संस्थाले पहल गर्न थालेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
-एम के यादव