तीर्थराज बस्नेत
शुक्रवार, भदौ २९, २०७५
626

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहिबार बस्ने भनिएको बैठक विवादका कारण बस्न सकेन ।
बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अनुशासन समिति र कार्य सम्पादन समिति गठन गर्ने एजेण्डा थियो । तर, दुवै समिति निर्माणका विषयमा विवाद बढेपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको स्रोतले जनाएको छ ।

कांग्रेसको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएपछि सभापति शेरबहादुरले देउवाले अर्को मिति नतोकि बैठक स्थगित गरेका छन् । एक नेताका अनुसार बैठकअघि नेता पौडेलले अनुशासन समिति, निर्वाचन समिति, क्रियासिल सदस्यता वितरण समिति, कार्यसम्पादन समिति सहमतिमै एकै पटक टुंगो लगाउनुपर्ने बताएका थिए । तर, सभापति देउवाले भने अन्य विषयमा प्रवेश नै नगरि अनुशासन समितिको मात्रै कुरा गरेको ती नेताले कारोबारलाई जानकारी दिए । “रामचन्द्र दाइले सबै विषय सहमतिका आधारमा एकैपटक टुंगो लगाउन भन्नुभएको थियो । तर सभापतिजीले सुन्ने चाहनुभएन,” ती नेताले भने । अनुशासन समितिको संयोजकका विषयमा समेत सभापति देउवाले छलफल गर्न नचाहेको स्रोतको दाबी छ ।
दिनभर यही विषयमा सहमति जुटाएर बैठक सुरु गर्ने प्रयास भए पनि सफल हुन नसक्दा देउवाले अर्को मिति नतोकी स्थगित गरेका छन् । नेविसंघले बुझाएको विधान, विधान मस्यौदा समितिले १२ ठाउँमा मस्यौदा माथि छलफल गर्ने निर्णयलाई केन्द्रीय समितिले स्विकृति दिने लगायतका एजेण्डा समेत बिहिबारको बैठकमा थिए । “विवाद भएका विषय बाहेकका अन्य एजेण्डाका बारेमा छलफल गरेर निर्णय गर्न सकिन्थ्यो । तर त्यसो हुन सकेन,” ती नेताले भने ।
विजयकुमार गच्छदार समूहलाई पार्टीभित्र ‘एडजस्ट’ गर्ने बारेमा समेत बिहीबारको बैठकमा छलफल हुने बताइएको थियो । “कांग्रेससँग एकिकरणपछि गच्छदारजी र उहाँसँग एकीकरण प्रक्रियामा आएका नेता कार्यकर्तालाई कसरी एडजस्ट गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर टुंगोमा पुग्न ढिला भइसकेको छ । यो विषयमा बिहिबार छलफल गर्न सकिन्थ्यो । एकिकरण गराउन भूमिका खेल्नुभएका नेताहरु यो विषयलाई चाँडो टुंग्गोमा पुराउन पर्छ,” एक नेताले भने ।
कांग्रेसले मंसिर पहिलो साता बोलाएको महासमिति बैठकअघि नै यी एजेण्डा टुंगो लगाउने भनेपनि विवाद चर्किँदा त्यो सम्भावना टरेको नेताहरु बताउँछन् । यो विषयले पार्टीभित्र सहमति र एकताको म्यासेज नगएको बताइन्छ । “यस्ता कुराले एकताको म्यासेज जाँदैन । यो विषय सभापतिले ख्याल गर्नुभएन,” पौडेल पक्षका अर्का नेताले भने ।
बिहिबारको बैठक स्थगित भएसँगै अर्को बैठक कहिले बस्ने भन्ने अन्योल सुरु भएको छ । नेता पौडेल शुक्रबार यूरोप भ्रमणमा निस्कँदैछन् । उनी नफर्कि बैठक बस्ने अवस्था नरहेको बताइएको छ ।