कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
590

जनकपुरधाम-एउटै कार्यक्रममा आधा दर्जनभन्दा बढी मन्त्री उपस्थित भएपछि आफ्नै मन्त्री तथा सत्तारुढ दलको आलोचनाले प्रदेश सरकार घेरिएको छ । प्रदेश नम्बर २ का जनताप्रति उत्तरदायित्व हुनभन्दा बढी गैरसरकारी संस्था तथा निजी व्यक्तिगत सम्बन्ध बनाउनका लागि प्रदेश सरकारका सम्पूर्ण पदाधिकारीहरु एउटै कार्यक्रममा सहभागी हुन रुचाउँछन् ।
बिहीबार जनकपुरधाममा गैरसरकारी संस्था सामुदायिक विकास कार्यक्रम (सिडिपी)को कार्यक्रममा प्रदेश नम्बर २ सरकारका १३ सदस्यमध्ये ८ जना सहभागी हुन पुगेका छन् ।

आरआरएन नामक गैरसरकारी संस्था अन्तर्गतको सामुदायिक विकास कार्यक्रम अन्तर्गत संस्थाको प्रगति समीक्षा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित ८ मन्त्री सहभागी भएका थिए ।
प्रदेश २ को सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सामाजिक सञ्जाल फेसबुकबाट असन्तुष्टि जनाएपछि प्रदेश सरकारमाथि नै प्रश्नवाचक चिन्ह लागेका छन् । प्रदेश नम्बर २ को सरकार पछिल्लो समय आफ्नो काम, कर्तव्यलाई महत्व दिनुको साटो विभिन्न कार्यक्रममा गएर आसन ग्रहण गर्ने र भाषण दिएर फर्किने काममा नै व्यस्त भएको भन्दै आलोचना सुरु भएको छ ।
सरकारका मन्त्रीको काम विभिन्न सभासमारोहमा जाने र भाषण दिएर फर्किने बाहेक खासै नदेखिएको सरकारमै सहभागी भएका राष्ट्रिय जनता पार्टीले आरोप लगाउने गरेका छन् ।
प्रदेश सरकारको सत्ता साझेदार दल राजपा नेपालका महासचिव तथा प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश सरकार एनजिओ आइएनजिओको कार्यक्रम र चिया नास्तामै व्यस्त रहेको आरोप लगाए । यस कार्यक्रममा मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवल किशोर साह सहभागी थिए । त्यस्तै राज्यमन्त्री सरोज सिंह कुशवाहा, योगेन्द्रराय यादव, अभिराम शर्मा र डिम्पल झा सहित ८ मन्त्री सहभागी भए ।

 किरण कर्ण