कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५
343

विराटनगर-उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानका विषयमा रहेका आफ्ना फरक मतहरू संवैधानिक प्रक्रियाबाटै समाधान गर्न प्रयासरत रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले संविधान संशोधन र परिमार्जनको मुद्दाबाट आफ्नो पार्टी पछि नहटेको बताउँदै त्यसलाई संवैधानिक प्रक्रियाबाटै समाधान गराउने प्रयासरत रहेको बताए । “संविधान संशोधन र परिमार्जनको मुद्दाबाट संघीय समाजवादी फोरम पछि हटेको छैन,” उनले भने, “संवैधानिक प्रक्रियाबाटै संविधान देखिएको असहमति हल गर्ने प्रयास भइरहेको छ ।”

उनले चुनावअघिको भन्दा अहिले राजनीतिक कोर्स परिर्वतन भइसके पनि आफूहरूले यसअघि उठाउँदै आएका सवालहरू यथावत रहेको बताए । यादवले स्थानीय, प्रदेश र केन्द्रस्तरमा समेत आफूहरू सरकारमा सहभागी रहेको उल्लेख गर्दै संविधान संशोधन र परिमार्जनबाट अघि बढ्ने नीतिअनुरुप पछिल्लो समय मौलिक हकसम्बन्धी महत्वपूर्ण कानुनहरू बनेको र छिट्टै नागरिकता ऐन आउन लागेको पनि जानकारी दिए । उनले थप केही कानुनहरू बनेपछि एउटा चरण पार हुने र त्यसपछि संविधान संशोधन र परिमार्जनको प्रक्रियालाई निरन्तरता दिइने उल्लेख गरे ।
उप्रधानमन्त्री यादवले देशमा शान्ति सुरक्षाको अवस्था खस्किएको नभई आपराधिक क्रियाकलापहरू बढेको दाबी गरे । “मुलुकको शान्ति सुरक्षा कमजोर नभई आपराधिक घटना मात्रै बढेको हो,” उनले भने, “तर सुरक्षा संयन्त्रणलाई अझै सशक्त रुपमा परिचालन भने गर्नुपर्छ ।”