कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
274

गोरखा-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक कारणले पार्टी एकतामा अलमल भएको बताएका छन् । गोरखा चेम्बर अफ कमर्शले आयोजना गरेको दशैं मेलाको उद्घाटन गर्न गोरखा आएका अध्यक्ष प्रचण्डले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एकताका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताए ।
“अहिले तल्लो तहसम्म पार्टी एकता हुन नसक्नुमा पार्टी केन्द्रमा ठूलै विवाद पो भएको छ कि भन्ने तपाईँहरुमा लाग्न सक्छ । त्यस्तो केही समस्या मैले देखेको छैन । पार्टी एकता ढिलो हुनुको कारण बास्तवमा प्राविधिक रुपले भएको हो । कहिले कसैलाई कहाँ जानुपर्ने, कहिले कसलाई कहाँ जानुपर्ने, फेरि सरकार सञ्चालनमा पनि समय दिनुपर्ने भएकाले पनि केही ढिला भएको हो । नेतृत्वमा समस्या भएकाले होइन,” उनले भने । आइतबार हुने सचिवालय बैठकले तल्लो तहसम्मको पार्टी एकताको टुङ्गो लगाउने उनले बताए । कम्युनिष्ट एकतालाई कसरी तोड्ने भन्नेबारेमा संसारभरका प्रतिक्रियावादीले कसरत गरिरहेको उनले आरोप लगाए । “नेपालको कम्युनिष्ट एकतालाई कसरी तोड्ने भनेर अहिले संसारभरका प्रतिक्रियावादी शक्ति लागि परेका छन्,” उनले भने, “संसारभरकै प्रतिक्रियावादीका लागि ठूलो टाउको दुखाइ भएको छ, नेपाल । पार्टी एकता कसरी भंग गराउने र सरकार सञ्चालनलाई कसरी बिफल बनाउने भनेर षड्यन्त्र भइरहेको छ ।” आफूहरु मिलेर जाने हो भने कसैले हराउन नसक्ने उनको दाबी छ । “हामीलाई बाह्य शक्ति कसैले हराउन सक्ने अवस्था छैन । हामीलाई हराउने भनेको हाम्रै आफ्नै कमजोरीले हो । हाम्रै कमजोरीमाथि विजय प्राप्त गर्न सकेनौं भने हामीले हार्छौं,” उनले भने । संसारलाई नै दिशा दिने ठाउँमा नेपालको कम्युनिष्ट पार्टी रहेको उनले बताए । कम्युनिष्ट पार्टीलाई शासन चलाउने अनुभव नभएकाले यही कमजोरीलाई प्रयोग गरी प्रतिक्रियावादीले सत्ता हत्याउने प्रयत्न गर्ने उनले बताए । “लामो समयदेखि क्रान्ति र आन्दोलनमा लागेका हामी अहिले शासक भएका छौं । हामीलाई लामो समयसम्म शासनसत्ता सम्हालेको अनुभव छैन,” उनले भने, “अनुभवको कमजोरीको कारणले शासनसत्ता सञ्चालनको क्रममा भएका सानातिना गल्ती कमजोरीको दुष्प्रचार गरेर हाम्रो बद्नाम गर्ने प्रयत्न भइरहेको छ ।” इमान्दारीताका साथ जनताको सेवामा लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । देश विकास र समृृद्धिका लागी तिनवटै सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उनको भनाइ छ । महँगी, भ्रष्ट्राचार तथा महिला हिंसा नियन्त्रणका लागि सरकारको पहल जारी रहेको उनले जानकारी दिए ।