कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
258

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत् चयन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चुनौति रहेको बताए । उनले भने, “आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चुनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रीय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।”
समितिका सभापति भीमबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र यतिबेला अनुशासन उल्लंघन भैरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे । उनले थपे, “शक्तिशाली आयोग बनाउनुपर्छ, र यसले सबैलाई अनुशासनको दायरामा राख्छ । सभापतिलाईसमेत अनुशासनभित्र राख्न सक्नुपर्छ ।” अब सभापतिले टीका लगाएर कोही पनि नियुक्त गर्न नहुने उनको भनाई छ ।

पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरुलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाइ छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारेमा आफूहरुले यतिवेला छलफलमै रहेको पौडेलले सुनाए । उनले भने, “पार्टीको सबै विद्यानहरुलाई हुबहु लागू गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । अब पार्टीको विधान नवौंपटक संशोधन हुँदैछ । यसमा कुनै विमति छैन ।”
फरक प्रसंगमा उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने, “अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटा पनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।”
वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने, “भाषण गरेरमात्रै रेल आउँदैन । रेल ल्याउने प्राविधिक पक्ष, लागतलगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन ।” सरकारले बिना टेण्डर र बिना सूचना बूढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण उल्लेख गर्दै उनले भने, “सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्ने कुरा साँचो होइन, खोज्न नसकेर होइन, नचाहेर नखोजेको हो । राज्य अपराधीलाई संरक्षण गर्न चाहन्छ । यस्ता कुराले राज्यमा विद्रोह पैदा गर्छ ।”