कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
222

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आज) सोमबार बस्दैछ । आइतबार स्थगित भएको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ ।
प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीका विषयमा पार्टीभित्र तिव्र असन्तुष्टि बढेका बेला बैठक ठाकिएको हो । आइतबारको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल व्यस्त भएपछि ओलीको सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जनाएको थियो ।
बैठकमा पार्टीको तल्लो तहको एकीकरण, प्रदेश पदाधिकारी चयनमा देखिएका असन्तुष्टि र सरकारका कामकारबाही लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् भने नेता नारायणकाजी श्रेष्ठसमेत यो विषयमा असन्तुष्ट देखिएका छन् । सरकारका काम कारबाहीका विषयमा नेकपाका नेताहरुले पछिल्लो समयमा सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।