कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
432

नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएपछि नयाँ तरंग सिर्जना भएको छ । भावी अध्यक्षका रुपमा हेरिएका अहिलेको केन्द्रीय समितिमा रहेका नेताहरु योसँगै संघको नेतृत्वबाट बाहिरिने पक्का भएको छ ।
आइतबार राति अबेर कांग्रेस केन्द्रीय समिति बैठकले संघको विधानमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय बहुमतबाट पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसंघ केन्द्रीय समितिले ११औं महाधिवेशनमा स्विकार गरिएको ३२ वर्षे उमेर हद हटाएर विधान पार्टीमा बुझाएको थियो । हाल केन्द्रीय समितिमा रहेका ३२ वर्ष मुनिका नेताहरु उमेर हद लागेपछि त्यसको पक्षमा देखिएका छन् ।

तर, महामन्त्री कुन्दन काफ्ले समूहले भने असन्तुष्टि जनाएको छ । सो निर्णयमा कांग्रेस बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भने नोट अफ डिसेन्ट लेखेका छन् । “नेपाल विद्यार्थी संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको ‘नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधानजस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी नेविसंघको अधिवेशनसमेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकिया विपरीत छ,” उनीहरुको भनाइ छ । तर, सभापति शेरबहादुर देउवा पक्षले भने ११औं महाधिवेशनबाट पारित उमेर हद रहेको विधानको व्यवस्था नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो ।
नेविसंघका उपसभापति निलकण्ठ रिजालले आफू उमेर हदको पक्षमा नरहे पनि पार्टीले गरेको निर्णय स्विकार्य हुने बताए । “व्यक्तिगत रुपमा म उमेर हदको पक्षमा छैन,” रिजालले भने, “तर, उमेरको विवादका कारण महाधिवेशन भाँडिनु हुँदैन । उमेर मानेरै पनि महाधिवेशन गर्नुपर्दछ ।”
महामन्त्री कुन्दन काफ्ले भने आफूलाई रोक्नका लागि पार्टीले नै गुटको राजनीति गरेको र त्यसका निर्देशक समितिका संयोजक रहेका सहमहामन्त्री प्रकाशशरण महत नै लागेको आरोप लगाए । “नेपाल विद्यार्थी संघमा समस्या छैन । सर्वसम्मत विधान बुझाइएको हो,” उनले भने, “प्रकाशशरण महतले खल्तीबाट नेतृत्व ल्याउन निर्देशक समितिको नाममा डण्डा देखाएर भाँडभैलो गर्नुभयो ।” उनले पार्टी नेतृत्वले गुटको राजनीति छोड्नुपर्ने बताए । पार्टी सभापति देउवाले एकलौटी गरेको निर्णयमा वरिष्ठ नेतालगायतकै असहमति रहेकाले सो निर्णय सच्याउनुपर्नेमा उनले जोड दिए । सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले भने पार्टी निर्णय स्वागतयोग्य भएको बताए ।
नेविसंघको १२औँ महाधिवेशन १६ कात्तिकदेखि तोकिएको छ । उमेर हटाउने विषयसँगै पार्टी नेताहरुले नै नोट अफ डिसेन्ट लेखेकाले जिल्ला अधिवेशन प्रभावित हुने र महाधिवेशन के होला भन्नेमा थप अन्योल देखिएको छ ।