कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
432

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा असहमतिपत्र पेश गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेता नेपालले प्रदेश पदाधिकारीको चयन र सरकारका कामकारबाहीका विषयमा लिखित रुपमा असन्तुष्टि राखेका हुन् ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार नेपालको सहमतिपत्र छलफलका लागि कार्यसूचीमा राखिएको छ । नेता नेपालले यसअघि संसद् बैठकमै सरकारका कामकारबाहीका विषयमा तिव्र असन्तुष्टि जनाएका थिए । उनी विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटी बनाएको थियो । उक्त विषयमा समेत नेपालले सार्वजनिक रुपममा असन्तुष्टि राख्दै आएका थिए ।

सोमबारको बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टिका विषयमा छलफल गर्ने, स्थायी समितिको बैठक बोलाउने, सरकारको समीक्षालगायतका विषयमा छलफल हुने बताइए पनि कुनै निष्कर्ष भने निस्कन सकेन । करिब तीन घण्टा चलेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश पदाधिकारी चयनका विषयमा जानकारी गएका थिए ।
ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणबारे बैठकलाई जानकारी गराउँदा दाहालले भारत र चीन भ्रमणबारे जानकारी गराएका थिए । बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा देश कमिटीको गठन, जिल्ला कमिटी गठन, स्थायी समितिको मिति, पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउने र पार्टीको निर्णयमा माग भएको विषयमा अर्को बैठकमा छलफल हुनेछ ।