तीर्थराज बस्नेत
बुधवार, आश्विन २४, २०७५
518

काठमाडौं-काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामविर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टीका सांसद मानन्धरले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीका नेता वामदेव गौतमले उनको क्षेत्रबाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेपछि मानन्धरले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा उनले पार्टीले भनेबमोजिम राजीनामा दिएको बताए ।

मानन्धरको राजीनामासँगै गत मंसिरमा भएको निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमका लागि काठमाडौं–७ बाट निर्वाचन लड्ने बाटो खुलेको छ । मानन्धरले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा भूमिका खेलेको बताए । गौतम संसद्मा आउँदा काठमाडौं–७ को मात्र नभई देशको समेत विकास हुने मानन्धरको दाबी छ ।
मानन्धरले राजीनामाको पत्र पार्टीमा बुझाइसकेको समेत बताए । “मैले प्रचण्डजीलाई राजीनामापत्र दिएको छु । त्यसबारे बुधबार (आज) सचिवालय बैठकले निर्णय गर्नेछ । पार्टीको निर्णयपछि मैले सभामुखलाई राजीनामा बुझाउनेछु,” मानन्धरले भने ।
मानन्धर काठमाडौं–७ मा १८ हजार १ सय २ मत ल्याएर विजयी भएका थिए । उनले नेपाली कांग्रेस र राप्रपाका संयुक्त उम्मेदवार विक्रम थापालाई हराएका थिए । थापाले १० हजार ७९ मत ल्याएका थिए ।
हारसँगै पलाएको रहर
वामदेव गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । तर, उनको मन हारेन । नेकपासँग दुई तिहाई मत रहेको अवस्थामा पाँच वर्ष सरकार सञ्चालन हुनेछ । तर, दाहालले बेला–बेला सरकारको नेतृत्वको आलोपालो गर्ने सहमति भएको अभिव्यक्ति दिँदै आएका छन् ।
भोलि यो विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच विवाद बढेमा दाहालको जोडबलमा प्रधानमन्त्री बन्ने रहर गौतमले पालेको नेकपाभित्र चर्चा छ । तर, त्यो रहर सांसद नभएको अवसरमा पूरा हुने सम्वभाना छैन । त्यसैले गौतम सांसद बन्न मरिहत्ते गरेको एक नेताले सुनाए । तर, उनको यो चाहना नेकपाभित्रकै धेरै नेता–कार्यकर्ताले रुचाएका छैनन् ।
उनका लागि राष्ट्रिय सभामा मनोनित हुने अवसर थियो । तर, त्यसमा उनले त्यति चासो देखाएनन् । बरू उनी निर्वाचन क्षेत्र खालि गराएर उपनिर्वाचन लड्ने ध्याउन्नमै लागे । त्यसका लागि उनले झलनाथ खनालदेखि माधवकुमार नेपालसम्मलाई राष्ट्रपति बनेर आफ्ना लागि निर्वाचन क्षेत्र खालि गर्न लबिङ गरेको बताइन्छ । वामदेवको सांसद बन्ने चाहनामा नेकपामा अध्यक्ष पुष्पकमल दाहालको साथ रहेको स्रोतको दाबी छ । दाहालको समर्थन पाएर हौसिएका गौतमले डोल्पादेखि बाँकेसम्म निर्वाचन लड्ने इच्छा देखाएका थिए ।
उपनिर्वाचन लड्न सुरूमा वामदेवले डोल्पामा आँखा लगाए । त्यसका लागि पर्यटन राज्यमन्त्रीसमेत रहेका सांसद धनबहादुर बुढालाई राजीनामा दिन नेकपाले निर्देशन दिएको थियो । तर, डोल्पाका कार्यकर्ताले यो प्रस्ताव अस्विकार गरिदिए र बुढाले राजीनामा दिएनन् । डोल्पामा निर्वाचन लड्ने सपना अधुरो बनेपछि वामदेवका आँखा बाँके र दैलेखमा समेत पुगे । तर, त्यहाँका नेता कार्यकताले वामदेव उपनिर्वाचन लड्ने प्रस्ताव अस्विकार गरिदिए । यद्यपि, गौतमले हार मानेनन् र अन्ततः काठमाडौं–७ मा मानन्धरलाई राजीनामा गराउन सफल भए ।
मानन्धरको सर्त
स्रोतका अनुसार पदबाट राजीनामा दिएर ठाउँ खालि गरिदिएका मानन्धरले दाहाल र गौतमसँग सर्त राखेका छन् । काठमाडौं–७ मा निकै लोकप्रिय रहेका उनले पदबाट राजीनामा दिएपछि राष्ट्रिय सभामा मनोनित गर्न र मन्त्री बनाउन भनेका छन् । यो सर्तमा दाहाल र गौतम सहमत भएपछि मानन्धरले पद छाडेको घोषणा गरेको बताइन्छ ।
काठमाडौं–७ मा जित्न गाह्रो
यसैपनि काठमाठौंको जनमत निकै अस्थिर मानिन्छ । विगतका निर्वाचनहरू हेर्ने हो भनेपनि त्यो कुराको पुष्टि हुन्छ । ओली नेतृत्वको सरकार पछिल्लो समय अलोकप्रिय बनिरहेको छ । जसको मूल्य उपनिर्वाचनमा वामदेवले चुकाउनुपर्ने अवस्था आउन सक्छ । निर्वाचन जितेका मानन्धरलाई राजीनामा गराएर वामदेव निर्वाचन लड्ने कुरा त्यहाँका मतदाताले नरूचाउन सक्छन् । सामाजिक सञ्जालमा पनि वामदेव उपनिर्वाचन लड्ने विषयलाई रूचाइएको छैन ।
यो क्षेत्रमा ०४८ मा साहना प्रधानले निर्वाचन जितेकी थिइन् । ०५१ मा राजेन्द्र श्रेष्ठ निर्वाचित भएका थिए । ०५६ मा तत्कालिन एमालेका मंगलसिद्धि मानन्धर निर्वाचित भएका थिए । ०६४ मा तत्कालीन माओवादी नेतृ हिसिला यमी निर्वाचित भए पनि ०७० र ०७४ को निर्वाचनमा रामविर विजयी भएका थिए । ०७४ को निर्वाचनमा बाम गठबन्धन उनको जितको मुख्य कारण बन्यो ।
काठमाडौं–७ मा नेवार समुदायको भोट निर्णायक मानिन्छ । काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५ वडा यही क्षेत्रमा पर्छन्, जहाँ नेवार समुदायको बढी बसोबास छ । प्रदेशसभाका दुवै सिटमा पनि नेकपाकै उम्मेदवार विजयी भएका थिए । प्रदेश १ मा वसन्त मानन्धरले ८ हजार ८०० मत ल्याएर विजयी हुँदा प्रदेश २ मा प्रकाश श्रेष्ठले ५ हजार ३०२ मत ल्याएर विजयी भएका थिए ।
यो क्षेत्रमा सुरूदेखि नै बाम वर्चश्व रहेपनि गौतमको सांसद नबनी नछोड्ने हठका कारण असन्तुष्ट बनेका मतदाता र पार्टी नेतृत्वको सरकारको अलोकप्रियताका कारण निर्वाचन जित्न निकै कठिन देखिन्छ । यस्तै नेपाली कांग्रेसले समना दलसँग गठबन्धन गरे वा राष्ट्रिय छवि भएको नेतालाई प्रतिस्पर्धीका रूपमा उठाए गौतमलाई निर्वाचन जित्न निकै कठिन हुने विश्लेषण हुन थालेका छन् ।

क्याप्सन
राजीनामा घोषणा गर्दै सांसद मानन्धर । तस्बिर ः रासस