तीर्थराज बस्नेत
बिहिवार, आश्विन २५, २०७५
699

मानन्धरले राजीनामा स्वीकृतिको पत्र अध्यक्ष दाहाललाई बुझाइसकेको बताएका छन् । उनले यसबारे सचिवालयले निर्णय गरेपछि सभामुखसमक्ष राजीनामा गर्ने मंगलबार पत्रकार सम्मेलनमा बताएका थिए । सचिवालय बैठक बुधबार बस्ने भनिए पनि २७ गतेका लागि सरेको छ ।

नेता वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लड्ने विषयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र हलचल पैदा भएको छ । गौतमका लागि त्यस क्षेत्रका सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरेपछि पार्टीमा असन्तुष्टि चुलिएको छ ।
पार्टीका शीर्ष नेता नै गौतम उपनिर्वाचन लड्ने विषयमा असन्तुष्ट देखिएका छन् । ती नेताहरूले निर्वाचनमा पराजय भोगेका नेताले निर्वाचित भएकालाई ठाउँ खालि गर्न लगाएर निर्वाचन लड्ने कुरा न्यायसंगत नभएको बताएका छन् ।
गौतम निर्वाचन लड्ने विषयमा सचिवालय सदस्य ईश्वर पोखरेलदेखि नेता भीम रावलसम्मले सार्वजनिक रूपमै विरोध गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत् वामदेवको सांसद बन्ने मोहप्रति अप्रत्यक्ष रूपमा विरोध गरेका छन् । उनले प्राप्त उचाइसँगै चुनौतीहरू पनि प्रकट हुन सक्छन् भन्ने कुरालाई अहिले पनि हेक्का राख्नु जरुरी भएको बताएका छन् ।
उनले १२ बुँदे सम्झौताअघि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता भारतमा गएको प्रसंगलाई समेत कोट्याएका छन् । “क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं,” उनले भनेका छन् “अहिले हामी भन्दैछौं, हामी थप एकताबद्ध बनेका छौं । कता हो कता, शक्तिशाली पनि बनेका छौं । तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयंले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरूरी छ ।”
उनले दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा स्थापित गरिएका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरूरी रहेको बताउँदै आफैंले विकास गरेका राम्रा कुराहरूले मात्र आफूहरुलाई बचाउन सक्ने बताएका छन् ।
यस्तै, नेता रावलले समेत वामदेव उपनिर्वाचन लड्ने कुरा उचित नभएको टिप्पणी गरेका छन् । उनले यो विषयमा स्थायी समिति डाकेर छलफल गराउनुपर्ने बताएका छन् । “विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल अत्यावश्यक छ,” उनले भनेका छन्, “राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल बिना निहित स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।”
मानन्धरले राजीनामा स्वीकृतिको पत्र अध्यक्ष दाहाललाई बुझाइसकेको बताएका छन् । उनले यसबारे सचिवालयले निर्णय गरेपछि सभामुख समक्ष राजीनामा गर्ने मंगलबार पत्रकार सम्मेलनमा बताएका थिए । सचिवालय बैठक बुधबार बस्ने भनिए पनि २७ गतेका लागि सरेको छ । मानन्धरको राजीनामाबारे उक्त बैठकले निर्णय लिने बताइएको छ ।

सिट गुम्नेगरी निर्वाचन हुँदैन : दाहाल
यसैबीच, नेकपाका अध्यक्ष दाहालले काठमाडौं–७ मा वामदेव गौतमलाई उठाउने निर्णय पार्टीले नगरेको बताएका छन् । बुधबार राजधानी आयोजित एक कार्यक्रममा बोल्दै दाहालले सांसद मानन्धरले राजीनामा दिने कुरा चलेको तर पार्टीले कुनै निर्णय नगरेको बताएका हुन् । उनले पार्टी हार्ने गरी चुनाव नहुने प्रष्ट पारे । “केही दिनदेखि काठमाडौं–७ को कुरा आइरहेको छ । म यत्ति भन्न चाहन्छु, हामीले हार्ने गरी चुनाव हुँदैन,” उनले भने । उपनिर्वाचनका बारेमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बिहान आफ्नो छलफल भएको उनको भनाइ थियो ।