कृष्ण न्यौपाने
बिहिवार, आश्विन २५, २०७५
238

दमौली-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै कांग्रेसलाई एकताको शुत्रमा बाँध्न सकिने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले बिहीबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई एकताको शुत्रमा बाँधेर लैजानुपर्नेमा जोड दिए । ‘त्यसै एकता, एकता भनेर मात्रै हुँदैन,’ उनले भने, ‘त्यसका लागि न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कन चाहिन्छ ।’ न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कन नभए पार्टीमा कुण्ठा बढ्दै जाने र द्वन्द्व बढ्ने पौडेलको भनाई थियो ।

अहिले संसदमा कांग्रेसको हैसियत कमजोर भएको बुद्धिजीविले टिप्पणी गरिरहेको भन्दै पौडेलले राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्न थालेको बताए । सदनमा केही मान्छेको अनुपस्थितिले गर्दा कांग्रेस आज संसददेखि नै कमजोर देखिएको पौडेलको भनाई थियो । ‘प्रतिपक्षीले सदनदेखि सडक तताउन सक्नुपर्छ,’ उनले भने, ‘तर कांग्रेस आज त्यो गर्ने हैसियतमा पनि छैन ।’ सरकारले गरेको गलत क्रियाकलापको तत्कालै प्रतिवाद गर्न प्रतिपक्षीले सक्नुपर्ने उनले बताए ।
आफू कांग्रेसको संसदीय दलको नेता हुँदाको समयमा पुष्पकमल दाहाल प्रचण्ड बहुमतको सरकारमा हुँदाहुँदै पनि राजिनामा दिनुपरेको क्षण स्मरण गराउँदै नेता पौडेलले भने, ‘मैले त्यो बेला खेलेको भूमिका कारण सरकारलाई आत्थु आत्थु भएको थियो ।’
वरिष्ठ नेता पौडेलले नेतृत्वबाट केही कमजोरी नभएको भए आज कांग्रेस यो अवस्थामा आइपुग्न नपर्ने बताउँदै भने, ‘कार्यकर्तालाई मात्रै दोष दिएर केही हुँदैन । कसको आचरण र व्यवहारले पार्टीको आँच र नामलाई बदनाम गरायो त्यसको कार्यकर्ताले मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।’ नेताले कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने बताउँदै कार्यकर्ताको मूल्याङ्कन नगरे अन्याय हुने पौडेलले बताए ।