कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
310

स्लग : ६३ औं प्रहरी दिवस
‘केही घटनाका कारण सफलता–असफलता मापन हुन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको सफलतामा नै सरकारको प्रभावकारिता निर्भर रहने बताएका छन् । नेपाल प्रहरीको ६३ औं स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी सरकारको प्रभावकारी र सशक्त माध्यम भएकोले यसका कामकारबाही पनि त्यत्तिकै रुपमा नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।
“प्रहरीको इतिहास ओजपूर्ण छ, यसलाई कायम राख्न यसका कामकारबाही पनि आम नागरिकमैत्री हुनुपर्दछ,” प्रधानमन्त्री ओलीले भने, “प्रहरीका हरेक कामकारबाही जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित हुनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बाबजुद प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न गरेको योगदान अतुलनीय रहेको बताए । “दृढता, देशप्रेम, कर्तव्यनिष्ठा र वीरता प्रहरीको ओजपूर्ण विगत हो,” प्रधानमन्त्री ओलीले भने, “यसलाई कायम गर्न प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवा आवश्यक छ ।” कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याप्रति इंगित गर्दै केही घटनाका कारण सिंगो संगठनको साखमाथि प्रश्न उठेको भन्दै गम्भीर किसिमका अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिला गर्न नहुने पनि उनले बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही घटनाका कारण सिंगो संगठनले राष्ट्र निर्माणमा पु-याएको योगदानको अवमूल्यन गर्न नहुने बताए । “एकाध घटनाको निष्कर्षमा नपुग्दै सिंगो संगठनको क्षमतामाथि प्रश्न गर्नु गलत हो,” महानिरीक्षक खनालले भने, “यदि एकाध घटनाका कारण समग्र मूल्यांकन गर्ने हो भने हजारौं इमान्दार सकल दर्जामाथि अन्याय हुनेछ ।”
सुरक्षामा हुने खर्च अनुत्पादक लगानी हो भन्ने परम्परागत सोचलाई त्यागेर सार्वजनिक सुरक्षालाई आर्थिक विकासको आधारस्तभको रुपमा ग्रहण गर्न पनि आईजीपी खनालले सरकारसमक्ष आग्रह गरे । प्रहरी संगठनको आधुनिकीकरण र जनशक्तिको क्षमता अभिवृद्धि पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।
यसैबीच यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाहलाई प्रदान गरिएको छ । प्रहरी सेवामा रहेर उल्लेखनीय योगदान पु-याएको भन्दै प्रहरी मुख्यालयले यस वर्षको उक्त अवार्डबाट पूर्व एआइजी शाहलाई सम्मान गरेको हो । प्रधानमन्त्री ओलीले पूर्व एआईजी शाहलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
२०३५ सालमा प्रहरी सेवा प्रवेश गरेका शाहले २०६५ सालमा एआईजीबाट अवकास पाएका थिए । यस्तै प्रधानमन्त्री ओलीले २०७४ सालमा कर्तव्य निर्वाहका क्रममा वीरगती प्राप्त गर्ने प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामी, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना, प्रहरी जवानहरु राजकुमार आले, शेरसिंह साउद, सुशिल बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पाडेल, विष्णुप्रसाद न्यौपाने र कार्यालय सहयोगी हरिबहादुर गुरुङका आश्रित परिवारलाई नगद तथा कदरपत्र प्रदान गरे ।
राणा शासनको अन्त्यसँगै २००७ सालमा तत्कालिन नेपाली कांग्रेसबाट सञ्चालित सशस्त्र आन्दोलनमा आवद्ध मुक्ति सेना व्यवस्थापन गर्न नेपाल प्रहरी गठन गरिएको थियो । यद्यपि २०१२ सालमा असोज ३० गते प्रहरी ऐन जारी भएको दिनलाई प्रहरी मुख्यालयले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।