कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
182

नेपाली कांग्रेसले आगामी मंसिर ५ गतेका लागि तय गरेको महासमिति बैठकका लागि गृहकार्य तिव्र पारेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँको अध्यक्षतामा मंगलबार सानेपामा बसेको बैठकले ५ वटा उपसमिति गठन गरेको हो ।
बैठकले भोजन व्यवस्थापन, मञ्च तथा प्रचारप्रसार, स्वयंसेवक व्यवस्थापन, स्थानीय व्यवस्थापन सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको बानियाँले जानकारी दिए । उपसमितिका संयोजकहरु पनि तोकिएका छन् ।

मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा कांग्रेस भक्तपुर जिल्ला सचिव उद्धव सिलवाल तोकिएका छन् भने सो समितिको सहसंयोजकमा ललितपुरका सचिव भीमसेन घिमिरे छन् ।
स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा ललितपुर जिल्ला सचिव भीमसेन घिमिरे र सहसंयोजकमा किरण न्यौपाने रहेका छन् । बैठकले आर्थिक व्यवस्थापन गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुलाई जिम्मा दिने निर्णय गरेको छ । कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने तय भएको छ ।