कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५
249

नयाँ शक्तिको निष्कर्ष
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले सरकार असफलताको बाटोमा अघि बढेको ठहर गरेको छ । बुधबार राजधानीमा सुरु भएको संघीय बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पतनको बाटो गएको दाबी गरिएको छ ।

“नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र होइन, उल्टो आफैं अकर्मन्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ । दुई तिहाईको दम्भमा भएको अवान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै कार्यकर्ताबाट आलोचित हुन थालेको छ,” प्रतिवेदनमा भनिएको छ ।
एकल बहुमत प्राप्त सरकारप्रति जनताले केही आश गरेको भए पनि आफूहरुलाई यो भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सग्लो देखिएका मात्र हो भन्ने त्यसबेला नै थाहा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकार कूटनीतिक सन्तुलन कायम गर्न असफल भएको दाबी गर्दै नयाँ शक्तिले बिम्स्टेकलाई सार्कको समानान्तर प्रतीत हुने गरी प्रस्तुत गर्नु, बिम्स्टेक सैन्य अभ्यास, थप हवाई रुटलगायतका कारण सरकार असफल भएको पार्टीले दाबी गरेको छ । चीनसँग भएका सम्झौता कार्यान्वयनमा ल्याउन सक्ने गरी गृहकार्य पनि नभएको नयाँ शक्तिको ठहर छ ।
कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाहसमेत गर्न नसकेको ठहर गरेको निष्कर्ष निकाल्दै उक्त पार्टीले नेकपामा स्वार्थ समूहहरुको टक्कर नाङ्गो हुँदै गएको र सत्ता स्वार्थका लागि जे पनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेको नयाँशक्ति पार्टीको विश्लेषण छ ।
प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । लोकतन्त्रका मूल्य–मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेको दाबी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका संयोजक भट्टराईले बैठक उद्घाटन गर्दै भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याजस्ता घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
उनले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दाबीसमेत गरेका छन् । २ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्नेछ ।