कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
339

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा नेता महतले भने, “ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।”
महतले आफूहरूले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्यपि, उनले आवश्यक प¥यो भने छठपछि सरकारविरुद्ध सशक्त रूपमा सडक र सदनमा संघर्ष गर्ने बताए । उनले भने, “चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रूपमा उत्रिन्छौं ।” उनले पार्टीको अब बस्ने केन्द्रीय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे वृहत् छलफल गर्ने जानकारी दिए ।

महतले भने, “सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाइसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रूपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरूलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।”
ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने, “अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन सकेन। यो पाराले कसरी मुलुक समृद्ध हुन्छ ?”
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने, “ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होइन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।”
उनले कञ्चनपुरमा अहिले सरकारले नाटक देखाइरहेको पनि आरोप लगाए । उनले भने, “१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यत्रो दिन बित्यो, तर रक्षक नै भक्षक भएको पाईयो । प्रहरी पनि सरकारकै संयन्त्र हो नि । सरकारकै छत्रछायाँमा यो भइरहेको छ ।”
सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने, “त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होइन भने, तिमीहरू सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले ग¥यो, के ग¥यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो ग¥यो त ?”