कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
273

नेपाली कांग्रेसले दशैं, तिहार, छठ र नेपाल संवत्को अवसर पारेर शुक्रबार जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगत ४१ वर्षदेखि कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना गर्दै आएको चियापान कांग्रेस नेता चक्र बास्तोलाको निधनको शोकका कारण केही दिनपछि गरिएको हो । कांग्रेसले चियापानमा करिब १ लाखलाई निम्त्याएको छ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा सरकारका मन्त्रीहरू, सत्तारुढ दल र विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरू, कुटनीतिक नियोगका प्रमुखहरू,संवैधानिक अंगका प्रमुखहरू निम्त्याइएका छन् । सभापति शेरबहादुर देउवाले आगन्तुकहरूलाई निमन्त्रणपत्र पठाइसकेका छन् ।

यसवर्षदेखि केन्द्रसहित जिल्लामा जिल्ला समितिले जिल्ला तहमै जलपान तथा शुभकामना आयोजना गर्दैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको केन्द्रीय कार्यालयमै भएपछि अन्य ७४ जिल्लाले केन्द्रकै समय अर्थात दिउँसो १ देखि ५ बजेसम्म जलपान आयोजना गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्किएपछि उनले जलपानको शुरुवात गरेका थिए । । ०३४ सालदेखि निरन्तर कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान गर्दै आएको छ । जसलाई कांग्रेसले अहिलेसम्म निरन्तरता दिएको छ भने अन्य राजनीतिक दलहरूले समेत यसको सिको गरेका छन् ।
“जसरी केन्द्रमा सबै राजनीतिक दलका नेताहरू, विभिन्न निकायका प्रमुखहरू, कुटनीतिज्ञलगायतका विशिष्ट व्यक्तिहरूलाई एउटै थलोमा बोलाएर चियापान आयोजना गरिँदै आएको छ,” प्रवक्ता शर्माले भने, “त्यसैगरि हरेक जिल्लामा त्यहाँका सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनिितक दलका जिल्लास्तरीय नेता, स्थानीय तहका जनप्रतिनिधिलाई निम्त्याएर चियापान हुनेछ ।” उनले केन्द्र र जिल्लामा गरिने चियापानको शैली र समय एउटै हुने पनि बताए । यसअघि नेपाल कम्युनिष्ट पार्टीले भृकुटीमण्डपमा चियापान आयोजना गरिसकेको छ ।