केशव समर्पण
आइतवार, कार्तिक १८, २०७५
301

हेटौंडा-तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई पदमुक्त गरिएको छ । प्रदेश सरकारको मन्त्री भएको ९ महिनामै स्थापित बर्खास्तीमा परेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ६ ‘ख’ बाट तत्कालीन एमालेको तर्फबाट प्रदेशसभामा निर्वाचित सांसद स्थापित मुख्यमन्त्री डोरमणि पौडेललाई अपशब्द बोलेकालगायत आरोपमा पदमुक्त भएका हुन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको कामकारबाहीको बारेमा प्रश्न उठाएपछि मन्त्री स्थापितले मुख्यमन्त्रीसँग चर्को स्वरमा प्रतिवाद गर्दै टेबल ठोकेका थिए । भनाभन चर्कँदै गएपछि उनले मुख्यमन्त्रीलाई अपशब्दसमेत बोलेको आरोप लगाइएको छ ।
आफूमाथि नै जाइलागेपछि मुख्यमन्त्री पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीबार काठमाडौंमा भेटी मन्त्री स्थापितलाई बर्खास्त गर्नेबारे छलफल गरेका थिए । दुवै अध्यक्षको सहमतिमा मुख्यमन्त्रीले शुक्रबार मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार स्थापितलाई पदमुक्त गरिएको हो ।
स्थापितलाई बर्खास्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैंले लिएका छन् । स्थापितलाई पदमुक्त गरेको चिठ्ठी प्रदेश प्रमुखको कार्यालयमा शुक्रबारै बुझाइएको छ ।

स्थायी राजधानीबारे पनि विवाद
प्रदेशको स्थायी राजधानीको विषयमा पनि मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच मतभिन्नता रहँदै आएको थियो । आन्तरिक रुपमा पौडेलले हेटौंडामा नै राजधानी कायम गर्नेबारे छलफल गर्दा मन्त्री स्थापित हेटौंडामा कुनै पनि हालतमा राजधानी राख्न नहुने पक्षमा उभिन्थे । स्थायी राजधानीबारे मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा खासै केही नबोले पनि मन्त्री स्थापितले भने बारम्बार हेटौंडा राजधानी राख्नै नहुने भन्दै विरोध गर्दथे । आफूले प्रदेश ३ को राजधानी जसरी भएपनि सार्ने र काठमाडौँ उपत्यका आसपासमा राजधानी लैजाने सार्वजनिक भाषण गर्दै आएका स्थापितको मन्त्री पद खोसिनु यो पनि प्रमुख कारण मानिएको छ ।

‘गफमात्र, काम छैन’
प्रदेशसभाको बैठकमा पनि नियमित उपस्थित नहुने स्थापित मन्त्रालयमा पनि विरलै भेटिन्थे । अन्य मन्त्रालयले धमाधम आफ्नो मन्त्रालयको भागमा परेका ऐन निर्माण गरिरहँदा भौतिक पूर्वाधार मन्त्रालयले भने हालसम्म कुनै कानुन पनि बनाउन सकेको छैन । मन्त्रालयले ७ वटा कानुन बनाउनुपर्ने भए पनि हालसम्म एउटै कानुन बनेको छैन । प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रवेशमात्र पाएको छ । उक्त विधेयक समितिमा छलफलको क्रममा रहेको छ ।
केही वर्षपहिले काठमाडौँमा विभिन्न बाधाका बाबजुद पनि २५ मिटर सडक चौडा बनाउन डोजर चलाएर काठमाडौँ हल्लाएका स्थापितले मन्त्री भएको केही दिनमै ३ महिनाभित्र हेटौंडामा पनि २५ मिटर सडक विस्तार गर्ने अभिव्यक्ति दिएका थिए । तर, ९ महिनासम्ममा काम शून्य भयो ।
तीन नम्बर प्रदेशको चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट भएको मन्त्रालय भएपनि काम भने निकै सुस्त भएको आरोप छ उनीमाथि । करिब १३ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने भए पनि कानुन नै नबनाउँदा योजना कार्यान्वयनमा समस्या भइरहेको छ ।

‘हेटौँडामा लोखर्के गनेर बसेको छु’
केही समयअघि ‘हेटौंडामा लोखर्के गनेर बसिरहेको छु’ भन्दै व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका मन्त्री स्थापितले राजधानी काठमाडौँमा भएको एक कार्यक्रममा प्रदेश नम्बर ३ लाई धुलोमुक्त बनाउने घोषणा पनि गरेका दिए । अमेरिकी कम्पनीसँग सम्झौता गरी यसो गर्ने भनेर उनले घोषणा गरेपछि वर्षौदेखि धुलो खान बाध्य जनता आशावादी भए तर, प्रगति शून्य भएपछि उनीप्रति नागरिकले समेत विश्वास गर्न छाडेका थिए । हेटौंडामै आयोजित अर्को एक कार्यक्रममा मन्त्री स्थापितले सिन्धुलीको मरिण भन्ने ठाउँमा स्वप्न सहर बनाउने योजना सुनाएका थिए ।

यौन दुव्र्यवहारको समेत आरोप
सामाजिक सञ्जालमा चलेको ‘मिटु’ अभियानमा स्थापितले यौन दुव्र्यवहारको आरोपसमेत खेप्दै आएका छन् । काठमाडौँ महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप उनीमाथि लगाइएपछि उनी विवादमा तानिएका थिए । महानगरपालिकाकी पूर्व कर्मचारी तथा पत्रकार रश्मिला प्रजापति र अर्की पत्रकार उज्जला महर्जनले मन्त्री स्थापितले आफूहरूलाई यौन दुव्र्यवहारको प्रयास गरेको बताएका थिए ।
प्रजापतिले आफू महानगरमा हुँदा स्थापितले नगरकोट जान प्रस्ताव गरेको बताएकी छन् भने महर्जनले अन्तर्वार्ता लिएपछि पटक–पटक आफूलाई बेलुका फोन गरेर भेट्न प्रस्ताव गरेको बताएकी छन् । मन्त्री स्थापितले भने दुवै आरोप गलत भएको र आफ्नो बदनाम बनाउन खोजिएको भन्दै बचाउ गर्दै आएका छन् । स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए ।