कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
273

विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजिरहेको कोइरालाको भनाइ थियो ।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चारजगतलाई कमजोर बनाउने खेलमा सरकार लागिपरेको दाबी गरे । सम्पत्ति शुद्धीकरणलगायतका महत्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहतमा ल्याएर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको उनले बताए ।

“न्यायपालिका निरीह बनेको छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ,” कोइरालाले भने, “अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागिपरेको छ ।” उनले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाएर सरकार मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद जबरजस्ती लाग्न खोजिरहेको बताए ।
नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एउटै ठाउँमा केन्द्रित गर्नेतर्फ सरकार अग्रसर भइरहेको उल्लेख गरे । “सबै शक्ति आफूमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीजी लागिरहनुभएको छ,” उनले भने, “यसले मुुलुकलाई बर्बादीको बाटोमा लग्छ ।” सरकारकै कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको कोइरालाको कथन थियो । संघीयता असफल भयो भने अहिलेसम्मका सबै उपलब्धि गुम्ने कोइरालाले दाबी गरे । संघीयता कार्यान्वयनमा सरकार उदासिन भएको बताउँदै कोइरालाले चाँडोभन्दा चाँडो प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न केन्द्र सरकारलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, डीएलए प्रदेश–१ का अध्यक्ष मुरारी पोखरेललगायतले संविधान र लोकतन्त्रलाई संस्थागत गर्ने दायित्व कांग्रेसको काँधमा आएको धारणा राखेका थिए ।