जगन्नाथ दुलाल
सोमवार, कार्तिक १९, २०७५
243

–विधान मस्यौदाको १० प्रतिशत काम बाँकी
–अध्ययनका लागि ५ दिन दिनुपर्ने
–मस्यौदामाथि धारणा राख्न ७ दिन
–अन्तिम रुप दिन ७ दिन

 नेपाली कांग्रेसको महासमिति बैठक मंसिर तेस्रो साता हुने भएको छ । यसअघि मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा बस्नेगरी महासमिति बैठक बोलाइएको भए पनि तयारी नपुग्दै भन्दै बैठक दुई साता धकेलिने भएको हो ।
महासमिति बैठकको मिति सर्ने निश्चित भइसके पनि सोबारे औपचारिक निर्णय भने मंगलबार केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधान मस्यौदा समितिले ९० प्रतिशत काम सकिसकेको र सोमाथि पर्याप्त छलफलका लागि समय अपुग हुने भएकाले बैठक केही पर धकेलिने बताए । “विधान मस्यौदा समितिले २ महिनादेखि अत्यन्तै गहन ढंगले काम गरिरहेको छ,” प्रवक्ता शर्माले भने, “विधानलाई थप प्रभावकारी र जनमुखी बनाउन केही समय लिएर छलफल गर्नु नै उपयुक्त हुन्छ । त्यसकारण पर्याप्त बहस र छलफल होस् भनेर बैठक केही समय पर सार्न लागिएको हो ।”

महासमिति बैठक यसअघि तय भएको मितिमा हुन नसक्नुमा ४ कारण रहेको शर्माले बताए । विधान मस्यौदा संशोधन समितिले ९० प्रतिशत काम सकेको तर १० प्रतिशत काम अझै बाँकी रहेको र त्यसका लागि समितिलाई अझै केही समय लाग्ने शर्माको भनाइ छ । समितिले मस्यौदा तयार गरेपछि केन्द्रीय कार्यसमितिमा पेश हुनेछ । केन्द्रीय समितिमा प्रस्तुत भएपछि अध्ययनका लागि ५ दिनको समय दिइनेछ ।
अध्ययनपछि आफ्नो धारणा राख्न केन्द्रीय सदस्यहरूलाई कम्तीमा ७ दिनको समय लाग्ने शर्माले बताए । मस्यौदामाथि सबैले धारणा राखिसकेपछि त्यसलाई टिपोट गरेर त्यसलाई अन्तिम रुप दिन कम्तिमा १ हप्ता लाग्ने मस्यौदा समितिका एक सदस्यले बताए । ती सदस्यले बैठक मंसिर २५ देखि २९ गते बस्ने गरी सार्ने गृहकार्य भइरहेको जानकारी दिए ।

केन्द्रीय समिति बैठक भोलि
कांग्रेसको आसन्न महासमिति बैठक र विधान मस्यौदामा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक मंगलबार (भोलि) बस्ने भएको छ । बैठकमा महासमिति बैठक र विधान मस्यौदामाथि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि मस्यौदा समितिले विधानलाई मंगलबारसम्म सकिसक्ने जनाएको थियो ।
गत असोज २१ गते बसेको केन्द्रीय समिति बैठकमा नेविसंघमा उमेर हद लगाउने निर्णय बहुमतका आधारमा पारित गरेको थियो । सो विषयलाई लिएर विवाद भएपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक बस्न लागेको हो ।