कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
205

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको रामनगरमा एकको मृत्यु र दर्जनौं घाइते हुनेगरी भएको गोलीकाण्डको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । आइतबार सो गोलीकाण्डमा घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेपछि पौडेलले यस्तो माग गरेका हुन् । उनले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य उपचारबारे जानकारी लिएका थिए ।
घाइतेहरुलाई भेटेपछि वरिष्ठ नेता पौडेलले सर्लाही गोलीकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने, घाइतेको निःशुल्क उपचार गरिनुपर्ने तथा दोषीलाई तत्काल पक्राउ गरी कारवाहिको दायरामा ल्याउन माग गरे । उनले अपराधीलाई आफ्नो पार्टीको कार्यकर्ता भएको नाममा जोगाउने प्रयासमा सरकार लागेमा कांग्रेस कडा आन्दोलनमा उत्रने बताए । मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनसमेत उनले सरकारसँग माग गरे ।
सत्तारुढ दल नेकपाका कार्यकर्ताले गोली प्रहार गरेको कांग्रेसको आरोप छ । गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४ बहुअर्वा टोलमा गोली प्रहारबाट कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको निधन भएको थियो । सोभन्दा अघिल्लो दिन रामनगर गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रामनरेश महतोमाथि कुटपीट भएको थियो । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।