कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
226

विराटनगर-प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै केही मन्त्रीलाई फिर्ता बोलाउने चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “अहिले नै सरकार पुनर्गठनको सम्भावना छैन ।”
सरकारले जनभावनाअनुसार नै काम गरिरहेको दाहालको दाबी थियो । अध्यक्ष दाहालले सरकार गठन भएको एक वर्ष पनि नपुगेको र सरकारले आफ्नो घोषणापत्रअनुुसार काम गरिरहेको बताए । उनले एक–डेढ महिनामा सबै विधेयक पारित गराउन सरकारको ध्यान केन्द्रित रहेको बताउँदै अब सरकारले कामको गतिलाई तीव्रता दिने दाबी गरे । अध्यक्ष दाहालले सवारी चालकले गाडीको गियर परिर्वतन गरेजस्तै सरकारले आफ्नो काम कारबाहीलाई तीव्रता दिनुपर्नेमा जोड दिए । “सरकारले गियरचाहिँ अब परिवर्तन गर्नैपर्छ,” दाहालले थपे, “जनताका अपेक्षा धेरै नै छन् । ती चाहना सबै एकैपटक पूरा नहुन सक्छन् ।”

यसैबीच, नेकपा मोरङले तिहारका अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्मबोध नगर्दा प्राप्त उपलब्धिहरू संस्थागत गर्न समस्या भइरहेको गुनासो गरेका छन् । “संघीयताको मर्म कर्मचारी संयन्त्रलाई राजनीतिक नेतृत्वले बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ,” उनले भने, “कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरूबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएको छ ।”
नेकपाका महासचिव विष्णु पौडेलले विकास र समृद्धि हासिल गर्ने सपना पूरा गर्न सरकार सफल हुने दाबी गरे । पौडेलले भने, “सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ, त्यसको रिजल्ट विस्तारै देखिँदै जानेछ ।”