कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
239

कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अबको बाटो सुशासन स्थापित गर्ने भएको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको नवनिर्मित भवन उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले अहिले देशमा दुईतिहाईको सरकार भएको बताउँदै अबको बाटो सुशासन स्थापित गर्ने हुनुपर्नेमा जोड दिए ।
“हिजोसम्म सेवाका वरिपरी जनतालाई घिसारेर लिएर आयौं , अब जनताको ढोकामा राज्य संन्यत्रले सेवा पु¥याउन सक्छ कि सक्दैन भनेर उत्तर खोज्न जरुरी छ,” उनले भने, “अब राजनीतिको भ्रष्टीकरण र भ्रष्टाचारको राजनीतिकरण हुन्छ कि हुँदैन ? समाजले एउटा भ्रष्ट पदाधिकारीलाई आगामी दिनमा पनि दोसल्ला ओढाएर हिँड्छ कि हिँड्दैन ? यी कुराहरुको उत्तर खोज्यो भनेमात्र मुलुकमा सुशासन स्थापित हुन्छ ।” उनले एउटा सामान्य किसानले राष्ट्रसेवक कर्मचारीलाई घूस खुवाउनुप¥यो भने त्यो भन्दा दुभाग्यपूर्ण र पीडादायी क्षण अरु नहुने बताए ।

भ्रष्टाचार न्यूनीकरण अख्तियारको मात्र एजेन्डा नभई सबैको एजेन्डा भएको बताउँदै उनले भ्रष्टाचार अन्त्यको लागि राज्य संयन्त्र, नागरिक समाज, पत्रकार सबै लाग्नुपर्नेमा जोड दिए ।
विकास निर्माणका कामहरुमा आफ्नो क्षमताभन्दा बढी ठेक्का लिएर काम अलपत्र पार्ने काम भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । उनले निर्माण व्यवसायीहरु पनि आयोगको निगरानीमा रहेको जानकारी दिए । प्रमुख आयुक्त घिमिरेले कञ्चनपुर नगर विकासको अनियमिततालाई पनि आयोगले गम्भीरताका साथ हेरेको बताए ।
अख्तियार दुरुपयोग आयोगका सचिव महेश्वर न्यौपानेले अनुसन्धानमा विज्ञता हासिल गर्न क्षमता विस्तार भइरहेको बताए । उनले भने, “काममा ढिलासुस्ती हुनु पनि भ्रष्टाचार हो । अहिले धेरै कार्यालयले काम रोक्ने गरेका छन् । यसमा भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”